रास्वपा पहिलो महाधिवेशन असोजमा गर्ने तयारी

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र २९, आइतबार १७:१०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी असोजमा आफ्नो पहिलो ऐतिहासिक महाधिवेशन गर्ने गरी आन्तरिक तयारी तीव्र पारेको छ । निर्वाचनका कारण यसअघि फागुनका लागि तय भएको कार्यतालिका प्रभावित भएपछि पार्टीले नयाँ कार्यतालिका अघि सारेको हो ।

संगठन विभागका सचिव शंकर श्रेष्ठका अनुसार चुनावका कारण रोकिएको संगठन निर्माणको काम वैशाख २ गतेदेखि पुनः सुरु गरिनेछ । वैशाख महिनाभर वडा र पालिकामा तदर्थ समिति गठन गर्ने र त्यसपछि जेठसम्म वडा अधिवेशन, असार र साउनमा पालिका तथा जिल्ला अधिवेशन, भदौमा प्रदेश अधिवेशन र असोजमा केन्द्रीय महाधिवेशन गर्ने लक्ष्य छ ।

Advertisement

पार्टी गठन भएको झण्डै चार वर्ष पुग्न लाग्दा रास्वपाले ७७ मध्ये ७५ जिल्लामा संगठन विस्तार गरिसकेको छ भने डोल्पा र मनाङमा समिति बन्न बाँकी छ । हाल ९२ सदस्यीय केन्द्रीय समिति रहेको रास्वपामा विधानअनुसार १२९ सदस्य रहने व्यवस्था छ ।

महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार पार्टीमा हालसम्म प्रमाणित भएका सदस्यको संख्या १ लाख ७३ हजारभन्दा बढी पुगेको छ । कर्णाली र मधेस प्रदेशमा संगठन निर्माण केही सुस्त रहेकाले अबको अभियान ती क्षेत्रमा केन्द्रित हुने पार्टीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.