
काठमाडौं। नेकपा (एमाले) भित्र विशेष महाधिवेशनको माग चर्किँदै गएका बेला पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियता पुनः बढेको छ। भदौको ‘जेन-जी’ विद्रोह र फागुन २१ को निर्वाचनमा एमाले २५ सिटमा खुम्चिएर तेस्रो दल बनेपछि पार्टीभित्र नेतृत्व परिवर्तन र पुनर्संरचनाको बहस सुरु भएको हो।
झापा-५ बाट पराजित भएका र युवा विद्रोह दबाउन खोजेको आरोपमा केही दिन न्यायिक हिरासत समेत बसेका अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय राजनीतिक रूपमा रक्षात्मक अवस्थामा छन्। ओली कमजोर बनेकै बेला भण्डारीले एमालेका विभिन्न तहका नेताहरूसँगको भेटघाट र सम्पादकहरूसँगको अन्तरक्रियालाई तीव्र पारेकी हुन्। भण्डारी निकट नेताहरूका अनुसार पसिना र रगत बगाएको पार्टीको वर्तमान अवस्था देख्दा उनी चुप बस्न नसकेर सक्रिय भएकी हुन्।
यद्यपि, एमालेको दोस्रो र तेस्रो पुस्ताका कतिपय नेताहरू भने पार्टी ब्युँताउन भण्डारीको पुनरागमन मात्र पर्याप्त नहुने बताउँछन्। राजनीतिक विश्लेषक केशव दाहालका अनुसार एमालेलाई साँच्चै पुनर्गठित गर्ने हो भने दोस्रो वा तेस्रो पुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्छ। उपमहासचिव योगेश भट्टराईले विशेष महाधिवेशनको प्रस्ताव युवा पुस्ताबाट आएको स्वीकार गरे पनि भण्डारीलाई नेतृत्वमा ल्याउनेबारे औपचारिक छलफल नभएको बताए।
एमाले विधानअनुसार ५० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेमा विशेष महाधिवेशन आह्वान गर्न सकिने व्यवस्था छ। पूर्वराष्ट्र प्रमुख सक्रिय राजनीतिमा फर्कँदा सकारात्मक सन्देश नजाने भन्दै यसअघि एमाले केन्द्रीय कमिटीले उनलाई रोक्ने प्रयास गरे पनि ओलीको पकड खुकुलो हुँदै जाँदा भण्डारीको पुनरागमनको सम्भावनालाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।



















