प्रहरी जवानको हत्या आरोपमा ४ जना पक्राउ 

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र ३०, सोमबार १८:१९

काठमाडौं । वीरगन्जमा एक प्रहरी जवानको हत्या आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पर्साको कालिकामाई गाउँपालिका–१ मुडली का २८ वर्षीय विकास चौरसियाको आइतबार साँझ वीरगन्ज महानगरपालिका–११ रानीघाटस्थित एक घरमा हत्या भएको प्रहरीले जनाएको छ । मृतक चौरसिया जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार चौरसियाको हत्या विवाहेतर प्रेम सम्बन्धका कारण भएको देखिएको छ । रानीघाटस्थित फिरोज मियाँको घरमा डेरा गरी बस्ने रौतहटको माधवनारायण नगरपालिका–१ का २६ वर्षीय सन्तोष साह र उनकी २४ वर्षीया श्रीमती सोनीकुमारी साहको कोठामा चौरसियाको हत्या भएको हो ।

Advertisement

प्रहरी जवान चौरसिया र सोनी कुमारीबीच अनैतिक सम्बन्ध रहेको थाहा पाएपछि सन्तोष साहले श्रीमतीलाई प्रयोग गरेर उनलाई कोठामा बोलाउन लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

श्रीमतीमार्फत फोन गरेर बोलाइएका चौरसिया कोठामा पुग्नासाथ योजनाबद्ध ढंगले उनीमाथि आक्रमण भएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सन्तोष साह (सोनीका श्रीमान), सोनीकुमारी साह, बारा महागढी नगरपालिका–७ का १९ वर्षीय विशाल साह र भारत उत्तर प्रदेश अलिगढका २१ वर्षीय ओमवीर प्रजापतिलाई घटनामा संलग्न भएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चौरसिया कोठामा पुगेपछि उनीहरूले टाउकोमा रड प्रहार गरी हत्या गरेका थिए । श्रीमतीसँग अनैतिक सम्बन्ध रहेको थाहा पाएपछि श्रीमानले नै योजना बनाएर कोठामा बोलाएको र चारै जना मिलेर हत्या गरेको देखिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकालाई हिरासतमा राखेर घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.