ओमकारको मृत्युपछि अधिकारविहीन सरिता राई, सहजीवनको अन्त्यसँगै घर निकालाको धम्की

मुलुकी खबर
पवन भण्डारी
clock२०८३ वैशाख १, मंगलबार १४:३५

विराटनगर । विराटनगरमा दुई दशकभन्दा बढी समयसम्म एक पुरुषसँग पति–पत्नीसरह बस्दै आएकी एक महिला अहिले सोही सम्बन्धका आधारमा आफ्नो अस्तित्व जोगाउन संघर्षरत अवस्थामा पुगेकी छन् ।

ओमकार चापागाईंसँग लामो समय सहजीवन बिताएकी सरिता राई अहिले जीवनकै संकटपूर्ण अवस्थामा रहेकी हुन् । ओमकारको मृत्युपछि उनी न वैधानिक पत्नीका रूपमा स्वीकार गरिएकी छन्, न त बसोबास गर्दै आएको घरमै सुरक्षित महसुस गर्न सकेकी छन् । उल्टै उनलाई घरबाट निकाल्ने धम्की दिइएको छ । परिवारका अन्य सदस्यहरूले चापागाईं र राईबीचको सम्बन्धलाई नै अस्वीकार गरेका छन् ।

ओमकारको मृत्यु भएर २२ वर्ष लामो सहजीवनको अन्त्य भएसँगै उनलाई घर निकाला गर्ने धम्की आइरहेको छ । विराटनगर महानगरपालिका–५ की राईले आफू ओमकारकी कान्छी पत्नी भएको बताइन् ।

चापागाईंकै जेठी श्रीमतीतर्फका छोराछोरीबाट आफू अन्यायमा परेको र ज्यानको समेत असुरक्षा भएको भन्दै राई अहिले न्यायको खोजीमा विभिन्न निकाय धाइरहेकी छन् । उनले महानगरको न्यायिक समितिमा निवेदन दिएपछि दुवै पक्षबीच तीनपटकसम्म छलफल भए पनि कुनै सहमति जुट्न सकेन ।

महानगरकी उपप्रमुख तथा न्यायिक समिति संयोजक शिल्पा निराला कार्कीका अनुसार सरिता राईले आफू र ओमकारबीच वैवाहिक सम्बन्ध रहेको दाबी गर्दै कानुनअनुसार पाउनुपर्ने हक अधिकार सुनिश्चित गरिदिन माग गरेकी थिइन् । तर, स्थानीय तहको न्यायिक समितिलाई सम्पत्ति बाँडफाँट गराउने वा अन्तिम फैसला गर्ने अधिकार नभएको कार्कीले बताइन् । ‘हाम्रो भूमिका मेलमिलाप गराउनेसम्म सीमित हो । हामीले तीनपटकसम्म छलफल गरायौँ । तर, कुरा मिल्न सकेन,’ उनले भनिन् ।

महानगरमा भएको छलफलका क्रममा सरिता राईले आफू र ओमकार चापागाईंबीचको सम्बन्ध परिवारका सबै सदस्यलाई थाहा भएको दाबी गरिन् । उनका अनुसार २०६१ सालमा उनीहरूबीच प्रेम विवाह भएको थियो । त्यसयता उनीहरू विराटनगर–५ स्थित औषधि फ्याक्ट्री नजिकै चापागाईंको घरमा सँगै बस्दै आएका थिए ।

ओमकारको जेठी श्रीमती र उनका सन्तानहरू प्रायः काठमाडौंमा बस्ने गरे पनि सरिताले विराटनगरमै बसेर घरको हेरचाह, खेतीपाती र पारिवारिक जिम्मेवारी सम्हाल्दै आएको स्थानीय बताउँछन् । तर, ओमकारका जेठी श्रीमतीतर्फका सन्तानहरूले भने सरिताको दाबी पूर्ण रूपमा अस्वीकार गरेका छन् ।

उनीहरूले सरिता राई आफ्नो बुवाको उद्योगमा काम गर्ने एक कर्मचारी मात्र भएको र उनीसँग कुनै वैवाहिक सम्बन्ध नरहेको जिकिर गरेका छन् । उनीहरूको भनाइमा सरितासँग विवाह भएको प्रमाणित गर्ने कुनै कानुनी कागजात छैन । त्यसैले राईले सम्पत्तिमा दाबी गर्न पाउने आधार नभएको चापागाईंको जेती पत्नीतर्फका सन्तानको भनाइ छ ।

महानगरपालिकाले पनि यही तथ्यलाई औंल्याउँदै सरितासँग विवाह दर्ता वा कानुनी रूपमा पति–पत्नी भएको पुष्टि गर्ने कुनै प्रमाण नदेखिएको जनाएको छ । उपप्रमुख कार्की भन्छिन्, ‘श्रीमान दाबी गरिएको व्यक्तिसँग विवाह दर्ता भएको कागजात छैन । नागरिकतामा ‘पति’ भनेर नाम उल्लेख छैन । त्यसैले यो विषय हाम्रो कार्यक्षेत्रभन्दा बाहिर गएको छ ।’

विवाद चर्किँदै गएपछि महानगरपालिकाले अन्ततः यो मुद्दा अदालतबाटै टुंगो लगाउनुपर्ने निष्कर्ष निकाल्दै फाइल बन्द गरेको छ । सरितालाई अदालत जान सुझाव दिइएको छ ।

राईले आफ्नो पीडा सुनाउँदै भनिन् ‘ओमकारको मृत्युको शोकसमेत नसकिँदै आफूलाई अपमानित र असुरक्षित बनाइएको छ ।’ २०८२ साल असोज २७ गते दुर्घटनामा घाइते भएका ओमकारको मंसिर १८ गते उपचारका क्रममा निधन भएको उनले बताइन् । राईले आफूले पतिको अन्तिम दर्शन गर्नसमेत नपाएको गुनासो गरिन् ।

‘१३ दिनको किरिया पनि नसकिँदै ‘तँ हाम्रो आमा होइनस्, घर छोडेर जा’ भन्दै धम्की दिन थाले,’ सरिताले भनिन्, ‘मलाई खेतीपातीको आम्दानीबाट पनि वञ्चित गरियो । अहिले बस्ने ठाउँको पनि टुंगो छैन ।’ उनले जिल्ला प्रशासन कार्यालय मोरङमा समेत ‘शान्ति सुरक्षाको माग’ गर्दै निवेदन दर्ता गराएकी छन् । आफ्नो ज्यानको सुरक्षा र बसोबासको अधिकार सुनिश्चित गरिदिन राईले माग गरेकी छन् ।

स्थानीय बासिन्दाहरू भने सरिता राई र ओमकार चापागाईं लामो समयदेखि पति–पत्नीसरह बस्दै आएको बताउँछन् । एक स्थानीयका अनुसार, ‘उनीहरू लामो समयदेखि सँगै बसेका थिए । समाजले पनि उनीहरूलाई पति–पत्नीका रूपमा नै चिनेको थियो । अहिले ओमकारको मृत्यु भएपछि सरितालाई अस्वीकार गर्नु अन्यायपूर्ण देखिन्छ ।’

यता, ओमकारका जेठीतर्फका छोरा उत्सव चापागाईंले भने यो विषयलाई अनावश्यक रूपमा मिडियामा ल्याउन खोजिएको बताएका छन् । उनले भने, ‘यो पारिवारिक विषय हो । अदालतमा जानुपर्ने कुरा हो । मिडियामा ल्याउन आवश्यक छैन । हामी अदालतको निर्णय पर्खिरहेका छौँ । मिडियालाई प्रतिक्रिया दिँदैनौं ।’

दुवै पक्षबीचको दाबी–प्रतिदाबीका बीचमा सरिता राई अहिले कानुनी रूपमा आफ्नो अस्तित्व प्रमाणित गर्ने चुनौतीसँग जुधिरहेकी छन् । विवाह दर्ता वा कानुनी प्रमाण नभएको अवस्थामा लामो सहजीवनकै आधारमा अधिकार स्थापित गर्नुपर्ने अवस्था उनको लागि जटिल बनेको छ । यद्यपि, ओमकारसँग पत्नीका रुपमा खिचेका फोटाहरु उनीसँग सुरक्षित छन् ।

यो घटनाले नेपाली समाजमा सहजीवन, दोस्रो सम्बन्ध र त्यसबाट उत्पन्न हुने कानुनी तथा सामाजिक जटिलतामाथि गम्भीर प्रश्न खडा गरेको छ । एउटै घरमा वर्षौं बिताएकी महिलालाई बुढ्यौलीमा सहारा दिनुको साटो घर निकाला गर्ने प्रयास हुनु पारिवारिक विवाद मात्र नभई सामाजिक संवेदनशीलताको विषय पनि बनेको महिला अधिकारकर्मीहरु बताउँछन् ।

महानगरको न्यायिक समितिबाट समाधान ननिस्किएपछि अब यो प्रकरण अदालतमा जाने निश्चितजस्तै देखिएको छ । अब अदालतले सरिता राईको दुई दशक लामो सहजीवनलाई कस्तो कानुनी मान्यता दिन्छ भन्ने प्रश्न उठिरहेको छ । अदालतको अन्तिम निर्णयले मात्र उनको भविष्यसँगै यस्तो प्रकृतिका अन्य घटनाहरूको मार्गदर्शन गर्नेछ ।

तपाइको प्रतिक्रिया
झापाको विद्यालयमा एक महिनाभित्रमा दुई पटक चोरी
इटहरी अख्तियारमा पुगेर अनुसन्धानको फाइल देखाउन सांसदको दबाब
सुनचाँदीको मूल्य फेरी बढ्यो 
भारतीय सवारी चालकसँग अवैध रकम असुल्ने ३ जना पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
खामेनीको हत्यालाई लिएर इरानको कडा चेतावनी, ‘जिम्मेवार पक्षसँग बदला लिएरै छाड्छौं’
फिफा विश्वकप २०२६ः बोस्नियालाई हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश
फिफा विश्वकप २०२६ः बोस्नियालाई हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश
साइकलसहित हिलोमा गाडिएको अवस्थामा पुरुष मृत फेला
बजेटकै कारण कोशी सरकार अप्ठ्यारोमा, संशोधनको बाटो खोज्दै सत्ता गठबन्धन
थमन विक हत्या प्रकरणको फैसला उल्टियो, एमालेका पूर्वसांसद लक्ष्मी कोइरीलाई ५ वर्ष कैद
पथरीशनिश्चरेबाट १९६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.