
विराटनगर । विराटनगर महानगरपालिका–८ स्थित जिल्ला कारागार मोरङमा लागुऔषध पुर्याउने दुई जनालाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये एक जना भारतीय नागरिक छन् ।
कारागार परिसरमा रहेको बाल सुधारगृहमा रहेकालाई भेट्न भनेर पुगेका भारतको बिहार सुपौल घर बताउने साहवाज अन्सारी र सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ घर बताउने दिल्साद अन्सारीलाई पक्राउ गरिएको मोरङ प्रहरीका सूचना अधिकारी, डीएसपी लीलाराज लामिछानेले बताए । उनका अनुसार दुवै जना सुधारगृहमा रहेकालाई भेट्न भनेर दिउँसो ३ बजेतिर कारागार पुगेका थिए ।
शंका लागेर सुरक्षाकर्मीले चेकजाँच गर्दा भेटघाटका लागि भनेर ल्याएको सामानमा लुकाइछिपाइ ल्याएको अवस्थामा लागुऔषध बरामद भएको जानकारी लामिछानेले दिए । उनका अनुसार लागुऔषध बरामद गरेर दुवै जनालाई पक्राउ गरिएको छ ।
पक्राउ परेकाको साथबाट गाँजा १५० ग्राम, नटजासेन १० पत्ता र पाँच पोका खैनी बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।



















