
काठमाडौं । पार्टीका नेता पूर्णबहादुर खड्काविरुद्ध नेपाली कांग्रेसले अनुशासनात्मक कदम अघि बढाउने तयारी गरेको छ । पार्टीको आधिकारिक संरचनाभन्दा बाहिर गएर समानान्तर गतिविधि गरेको आरोपमा उनलाई स्पष्टीकरण सोध्दै अनुशासनात्मक कारबाहीको तयारी गरिएको हो ।
नेपाली कांग्रेसका एक शीर्ष नेताका अनुसार केन्द्रीय अनुशासन समितिको बैठकले खड्कासँग लिखित जवाफ माग्ने निर्णय गर्न लागेको छ । उनले पार्टीको लेटरप्याड प्रयोग गरी कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेको विषयलाई गम्भीर रूपमा लिइएको जनाइएको छ ।
खड्काले हालै जारी गरेको विज्ञप्तिमा पार्टीको क्रियाशील सदस्यता खारेज गर्ने निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका थिए । त्यसअघि पनि उनले कार्यवाहक सभापतिको दाबी गर्दै विभिन्न राजनीतिक घटनाक्रममा धारणा सार्वजनिक गरेका थिए । जसले पार्टीभित्र विवाद चर्काएको थियो ।
अनुशासन समितिले यसअघि नै स्पष्ट अनुमति बिना कार्यवाहक सभापतिको हैसियत प्रयोग गरे कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको थियो । सोही निर्णयका आधारमा अब स्पष्टीकरण सोधेर आवश्यक परे थप कारबाही गर्ने तयारी गरिएको हो ।
कांग्रेसभित्र पछिल्लो समय देखिएको गुटगत गतिविधि र नेतृत्वबीचको विवादले पार्टी संगठनमै असर पार्न थालेको भन्दै नेताहरूले चिन्ता व्यक्त गरेका छन् ।



















