खड्कालाई थुनामै राख्न आदेश

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २, बुधबार १६:०६

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई थुनामै राख्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

खड्काकी श्रीमती विनिता थापाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले उनलाई हालको अवस्थामा यथास्थितिमा राख्न आदेश दिएको हो । सुनुवाइका क्रममा वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त, शम्भु थापा, उपेन्द्रकेशरी न्यौपाने, सतिष्कृष्ण खरेल तथा अधिवक्ता प्रकाश रेग्मीले बहस गरेका थिए ।

Advertisement

त्यस्तै, सरकारी पक्षबाट नायवमहान्यायाधिवक्ता सञ्जिवराज रेग्मी र उपन्यायाधिवक्ता दशरथ पंगेनीले बहस प्रस्तुत गरेका थिए । सर्वोच्च अदालतले यस मुद्दाको थप सुनुवाइका लागि बिहीबारलाई अर्को पेसी तोकेको छ ।

खड्कालाई चैत १५ गते प्रहरीले पक्राउ गरेको थियो । जेनजी आन्दोलनका क्रममा उनको निवासमा भेटिएको जलेको रकम र सम्पत्तिसम्बन्धी विषयको अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको बताइएको छ । सो क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि अनुसन्धान गरिरहेको छ ।

आन्दोलनपछि खड्काको घरमा जलेका नोटका टुक्रा, खरानी तथा केही सग्ला नोटसमेत फेला परेको दाबी गरिँदै आएको छ । घटनासँग सम्बन्धित भिडियो र तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.