
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको केन्द्रीय अनुशासन समितिले आफूलाई सोधेको स्पष्टीकरणलाई ‘हास्यास्पद, निरर्थक र अर्थहीन’ भएको प्रतिक्रिया दिएका छन् ।
बुधबार पार्टीको अनुशासन समितिले खड्काले अवैधानिक संरचनाको प्रयोग गर्दै पार्टीको लेटरप्याड दुरुपयोग गरेको आरोप लगाएर उनलाई ७ दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सो निर्णयपछि प्रतिक्रिया दिँदै खड्काले आफूले प्रयोग गरेको लेटरहेड सक्कली भएको दाबी गरे ।
उनले विशेष महाधिवेशन, त्यसबाट निर्वाचित कार्यसमिति तथा त्यसले गरेका निर्णयहरू अवैधानिक रहेको भन्दै आफू सर्वोच्च अदालत गएको प्रसंग पनि दोहोर्याए । खड्काका अनुसार उक्त मुद्दा अहिले पनि विचाराधीन अवस्थामा छ ।
उनले भने, ‘अवैधानिक महाधिवेशन र अवैधानिक ढंगले निर्वाचित कार्यसमितिले बनाएका अवैध संरचनाले स्पष्टीकरण सोध्ने भन्ने निर्णय भएको छ । यो निर्णय निरर्थक छ, हास्यास्पद छ, अर्थहीन छ ।’ खड्काले फागुन २१ गतेको आमनिर्वाचनको सन्दर्भमा पनि आफूले अवैधानिक ठहर गरेका संरचनाबाट टिकट वितरण भएको भन्दै त्यसप्रति असहमति जनाउँदै चुनावसमेत नलडेको बताए ।
अनुशासन समितिको निर्णयपछि कांग्रेसभित्रको आन्तरिक विवाद फेरि सतहमा आएको देखिएको छ । यसले पार्टीलाई फुटको संघारमा पुर्याएको विश्लेषण गर्न थालिएको छ ।



















