
काठमाडौं । नेपाली कांग्रेसले पार्टीभित्र देखिएका असन्तुष्ट नेताहरूसँग संवाद गर्ने जिम्मेवारी सभापति गगनकुमार थापालाई दिएको छ ।
पार्टीका प्रवक्ता देवराज चालिसेका अनुसार आगामी पन्ध्रौं महाधिवेशनलाई समयमै सम्पन्न गर्ने लक्ष्यसहित असन्तुष्ट पक्षसँग छलफल र समन्वय गर्ने जिम्मेवारी सभापति थापालाई दिइएको हो । प्रवक्ता चालिसेले पार्टीभित्र विभिन्न तहमा असन्तुष्टि देखिन थालेको उल्लेख गर्दै पुराना नेता, पूर्वपदाधिकारी तथा महत्वपूर्ण जिम्मेवारीमा रहेका नेताहरूसँग नियमित संवाद आवश्यक रहेको बताए ।
उनका अनुसार महाधिवेशन तयारीलाई प्रभावकारी बनाउन सबै पक्षका धारणा सुन्ने र समाधानको बाटो निकाल्ने उद्देश्यले यो निर्णय गरिएको हो । ‘जो जिम्मेवारीमा छ, जो संस्थापन पक्ष हो, उसैको जिम्मेवारी हुन्छ,’ चालिसेले भने, ‘त्यसैले पुराना अग्रज नेतादेखि वर्तमान पदाधिकारीसम्म सबैसँग छलफल गरेर महाधिवेशन समयमै सम्पन्न गर्ने वातावरण बनाउन सभापति थापालाई जिम्मेवारी दिइएको हो ।’
उनले असन्तुष्ट समूहसँग संवाद गर्न पार्टीले औपचारिक पहल सुरु गरिने पनि जानकारी दिए । पार्टीभित्रका मतभेदलाई व्यवस्थापन गर्दै संगठनलाई एकताबद्ध बनाएर महाधिवेशनतर्फ अघि बढ्ने तयारी कांग्रेसले गरेको छ ।



















