निःशुल्क उपचार सेवा सुरु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २, बुधबार १९:०७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपन्न, असहाय तथा बेवारिसे नागरिकका लागि निःशुल्क उपचार सेवा औपचारिक रूपमा सुरु भइसकेको जनाएको छ ।

सरकारको शासकीय सुधारका १०० बुँदाअन्तर्गत स्वास्थ्य क्षेत्रका कार्यक्रमहरूको प्रगति सार्वजनिक गर्दै मन्त्रालयले सेवा विस्तार र सुधारलाई प्राथमिकता दिइएको स्पष्ट पारेको छ । मन्त्रालयका अनुसार ‘फ्री हेल्थ पोर्टल’ सञ्चालनमा ल्याइएपछि विपन्न वर्गलाई उपचारमा सहज पहुँच सुनिश्चित गर्ने काम अघि बढाइएको छ ।

Advertisement

हालसम्म १५ वटा अस्पतालले आफ्नो कुल शय्याको १० प्रतिशत निःशुल्क उपचारका लागि उपलब्ध गराउने विवरण पठाइसकेका छन् । अस्पताल सेवा सुधारका लागि ‘अस्पताल सेवा सुधार कार्यविधि, २०८२’ लागू गरिएको छ ।

३० वटा अस्पतालमा स्वास्थ्यकर्मीको उपस्थिति, व्यवहार, सरसफाइ र सेवा मापदण्ड अनुगमनका लागि फोकल पर्सन तोक्ने प्रक्रिया सुरु भएको छ । जलनका बिरामीका लागि २३ वटा अस्पतालमा उपचार सेवा विस्तार गर्ने तयारी पूरा भएको छ ।

दुर्गम क्षेत्रमा आकस्मिक सेवाका लागि एयर एम्बुलेन्स ‘स्ट्यान्डबाइ’ राखिएको र ११ हेलिकप्टर कम्पनीसँग सहुलियत दरमा मेडिकल इभ्याकुएसन सम्झौता भएको मन्त्रालयले जनाएको छ । गुनासो व्यवस्थापन प्रणालीमार्फत प्राप्त ३,१२२ मध्ये २,६७१ गुनासो समाधान प्रक्रियामा रहेका छन् ।

साथै, डिजिटल फार्मेसी, एकीकृत स्वास्थ्य सूचना प्रणाली र अनावश्यक रिफरल नियन्त्रण गर्ने निर्देशिका कार्यान्वयनमा ल्याइएको मन्त्रालयको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.