
काठमाडौं । अन्तर्राष्ट्रिय प्रतिष्ठित म्यागजिन टाइमले सार्वजनिक गरेको ‘सन् २०२६ का विश्वका १०० प्रभावशाली व्यक्तिहरू’को सूचीमा नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) समावेश भएका छन् ।
विश्व राजनीति, कला र विचारका प्रभावशाली व्यक्तित्वहरू समेटिएको उक्त सूचीमा शाहलाई ‘नेता’ विधामा राखिएको हो । ३६ वर्षीय शाहलाई टाइमले ‘हिप–हपका पूर्वकलाकार’ र नेपालको इतिहासकै कान्छो प्रधानमन्त्रीका रूपमा चित्रण गरेको छ ।
हालै सम्पन्न आम निर्वाचनमा युवापुस्ताको व्यापक समर्थन र परम्परागत दलप्रतिको असन्तुष्टिका कारण उनले उल्लेखनीय विजय हासिल गरेको उल्लेख गरिएको छ । शाहको उदयलाई टाइमले नेपालको राजनीतिक परिवर्तनको संकेतका रूपमा विश्लेषण गरेको छ ।
विशेषगरी सहरी मतदातामाझ उनको लोकप्रियता र वैकल्पिक नेतृत्वको छवि अन्तर्राष्ट्रिय चासोको विषय बनेको बताइएको छ । यस सूचीमा शाहसँगै अमेरिकी नेता एवं राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ, मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबाउम तथा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु लगायतका विश्व चर्चित नेताहरू पनि समावेश छन् ।
टाइमको सूचीमा पर्नु शाहका लागि मात्र नभएर नेपालका लागि पनि अन्तर्राष्ट्रिय स्तरमा बढ्दो पहिचान एवं उच्च छविको संकेतका रूपमा हेरिएको छ ।



















