
कैलाली । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथ हत्या आरोपमा पक्राउ परेकी छन् । प्रहरीका अनुसार उनलाई बिहीबार महेन्द्रनगरबाट नियन्त्रणमा लिइएको हो ।
कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी हेमबहादुर शाहीका अनुसार ज्यानसम्बन्धी मुद्दामा अनुसन्धानका लागि नाथलाई हिरासतमा राखिएको छ । उक्त मुद्दा इलाका प्रहरी कार्यालय बेलडाँडीमा दर्ता भएको जानकारी उनले दिए ।
घटना करिब एक वर्षअघिको हो । गत वर्ष वैशाख ९ गते बेलौरी नगरपालिका–१० शिवनगरस्थित घटियाघाट रोड नजिकै हरिकिसन राना मोटरसाइकलसहित जलेको अवस्थामा मृत फेला परेका थिए । घटनास्थल सडक छेउमै भएकाले सुरुदेखि नै दुर्घटना वा हत्या भन्ने कोणबाट अनुसन्धान हुँदै आएको थियो ।
मृतककी पत्नी फिरियादेवीले उपाध्यक्ष नाथविरुद्ध योजनाबद्ध रूपमा धम्की दिएको, आर्थिक लेनदेनका लागि दबाब दिएको र ज्यान मार्ने षड्यन्त्र गरेको आरोप लगाउँदै किटानी जाहेरी दिएकी थिइन् । कृषि अनुदान दिलाउने बहानामा रकम असुल्न खोजिएको र नदिँदा धम्की दिएको जाहेरीमा उल्लेख छ ।
यसैबीच, घटनाको निष्पक्ष छानबिन र दोषीलाई कारबाहीको माग गर्दै नेपाल राना थारु समाजले प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्रसमेत बुझाएको थियो । प्रहरी नियन्त्रणमा रहेकी नाथको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई महाकाली प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।



















