सुनसरीको बर्जुबाट गैँडाको खागसहित चार जना पक्राउ, किन हुन्छ खागको तस्करी ?

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ४, शुक्रबार १०:२९

सुनसरी । सुनसरीको बर्जुबाट गैँडाको खागसहित बिहीबार साँझ ४ जना पक्राउ परेका छन् ।

बर्जु गाउँपालिका–६ स्थित बर्जु तालनजिकबाट सशस्त्र प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह वाहिनी पकलीबाट खटिएको टोलीले बर्जु–६ का ३९ वर्षीय राजेशकुमार उराउ, ३१ वर्षीय जीवन चौधरी, बर्जु–५ का ३३ वर्षीय रविनकुमार यादव र मोरङको पथरीशनिश्चरे नगरपालिका–१ का ४० वर्षीय नारायणप्रसाद घिमिरेलाई पक्राउ गरेको हो ।

Advertisement

झापाबाट गैँडाको खाग लिएर आइरहेको गोप्य सूचनाका अधारमा परिचालित सशस्त्रको टोलीले चारै जनालाई एकै ठाउँबाट पक्राउ गरेको थियो । पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि डिभिजन वन कार्यालय सुनसरीमो बुझाइएको छ ।

पक्राउ परेकाको साथबाट एउटा खाग र दुईवटा मोटरसाइकल बरामद भएको छ । गैँडाको खाग तस्करीको ठूलो सञ्जाल रहेको हुनसक्ने अनुमान छ । पक्राउ परेकाहरुले खाग कहाँबाट ल्याइएको हो र कता लैजान खोजिएको भनेर यकिन हुन बाँकी छ ।

डिभिजन वन कार्यालय सुनसरीका निमित्त प्रमुख शिवनारायण मण्डलले बर्जु तालनजिकै खागको तौल लिँदा लिँदै सशस्त्रले फेला पारेपछि पक्राउ गरेर कारबाहीका लागि बुझाएको बताए । उनका अनुसार पक्राउ परेकाविरुद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत मुद्दा चलाउनलाई थप अनुसन्धान अघि बढाइने छ ।

लोपोन्मुख एवं अति दुर्लभ जंगली जनावर गैँडाको खागको व्यापारलाई अवैध मानिन्छ । विभिन्न परम्परागत भ्रमका कारण लुकाइछिपाइ खागको अवैध व्यापार हुने गरेको छ । तर, खाग निक्कै महँगो र दुर्भल मानिन्छ ।

एकसिङे गैँडा दुर्लभ भएकाले अन्तर्राष्ट्रिय कालो बजारमा यसको मूल्य अत्यन्तै धेरै हुन्छ । अत्यधिक मूल्यमा किनबेच हुने गरेकै कारण अवैध चोरी सिकारीमा संलग्नले गैँडा मार्ने जोखिम उठाउँछन् । जसका कारण गैँडाको संरक्षणमा ठूलो चुनौती थपिएको छ ।

तर, गैँडा र यसको खागको व्यापार अन्तर्राष्ट्रिय रूपमा नै प्रतिबन्धित छ । धेरैजसो देशहरुमा यसलाई किनबेच वा ओसारपसार गर्नु अपराध मानिन्छ । तर पनि जोखिम मोलेर अवैध हिसाबले गैँडा मार्ने र खागको तस्करी गर्ने क्रम रोकिएको छैन ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.