
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले झापाको भद्रपुरस्थित वडा प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) मोतीलाल योञ्जन तामाङलाई २०८२ साल चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी (बेस्ट पुलिस अफ दी मन्थ) घोषित गरेको छ ।
विभागीय मूल्यमान्यता, आदेश निर्देशनको पूर्ण पालना गर्दै उच्च मनोबल र साहसका साथ पदीय जिम्मेवारी निर्वाह गरेको मूल्यांकनका आधारमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो । इन्स्पेक्टर तामाङले ‘अपरेसन ब्राउन’अन्तर्गत भद्रपुर क्षेत्रमा लागुऔषध नियन्त्रणलाई अभियानकै रूपमा सञ्चालन गर्दै चैत्र महिनाभर उल्लेखनीय सफलता हासिल गरेका थिए ।
उक्त अभियानअन्तर्गत लागुऔषध सम्बन्धी १५ वटा मुद्दामा संलग्न ३२ जना अभियुक्तलाई पक्राउ गरिएको थियो । पक्राउ परेकाहरूको साथबाट ३४६ ग्राम ५७ मिलिग्राम ब्राउन सुगर, नगद ३ लाख रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, भन्सार छलीका करिब १० लाख ४७ हजार रुपैयाँ बराबरका विभिन्न अवैध सामान पनि नियन्त्रणमा लिइएको थियो । सोही अवधिमा विभिन्न मुद्दामा फरार रहेका ९ जना प्रतिवादीलाई समेत पक्राउ गर्न उनी नेतृत्वको प्रहरी सफल भएको थियो ।
इन्स्पेक्टर तामाङले जेनजी आन्दोलनका क्रममा पूर्ण रूपमा क्षति पुगेको वडा प्रहरी कार्यालय भद्रपुरको भवन, ब्यारेक तथा कार्यालय पुनर्स्थापनामा पनि सक्रिय भूमिका निर्वाह गरेका थिए । स्थानीय तह, विभिन्न संघ संस्था तथा स्थानीयसँग समन्वय गर्दै आवश्यक फर्निचर, विद्युत् सामग्री व्यवस्थापन तथा मेची बिट पुनःस्थापनामा उनले नेतृत्वदायी भूमिका खेलेका थिए ।
त्यसैगरी, प्रहरी चौकी मेचीपारीका लागि नयाँ जग्गा प्राप्ति, वडा प्रहरी कार्यालय भद्रपुरको नयाँ भवन निर्माणका लागि पहल तथा सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरी शान्ति सुरक्षाप्रति जनविश्वास अभिवृद्धि गर्न योगदान दिएको प्रहरीले जनाएको छ । कार्यसम्पादनको समग्र मूल्यांकनका आधारमा तामाङलाई कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले चैत्र महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरेका हुन् ।



















