सर्वोच्चको फैसलाप्रति असहमति, देउवा पक्ष पुनरावलोकन र विकल्पको बहसमा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ६, आइतबार १८:२१

काठमाडौं । शेरबहादुर देउवा पक्षले गगन थापालाई नेपाली कांग्रेसको आधिकारिकता दिने सर्वोच्च अदालतको फैसलामाथि पुनरावलोकनमा जाने निर्णय गरेको छ ।

आइतबार बसेको देउवा समूह बैठकले फैसला औपचारिक रूपमा स्वीकारे पनि त्यसका केही आधार र व्याख्याप्रति असहमति जनाउँदै कानुनी विकल्प खोज्ने निष्कर्ष निकालेको हो । नेता मीन विश्वकर्माका अनुसार निर्णय मानिए पनि सबै विषय स्वीकार्य नभएकाले पुनरावलोकन आवश्यक ठहर गरिएको छ । यससँगै देउवा समूहले केन्द्रदेखि प्रदेश र जिल्लासम्म छुट्टाछुट्टै भेला आयोजना गरी आफ्नो धारणा स्पष्ट पार्ने तयारी गरेको छ ।

Advertisement

बैठकमा नेता पूर्णबहादुर खड्काले फैसलाविरुद्ध पूर्ण इजलासमा जाने सम्भावना अझै बाँकी रहेको बताएका छन् । उनले अदालतले प्रस्तुत गरेका आधारहरूसँग असहमति जनाउँदै समूहलाई एकजुट राखेर चरणबद्ध रूपमा अगाडि बढ्ने रणनीति अवलम्बन गरिने बताए ।

यता, आन्तरिक छलफलका क्रममा केही नेताहरूले पार्टीभित्र सम्मानजनक अवस्था नबने नयाँ पार्टी गठनसम्मको विकल्प उठाएका छन् । नेताहरूले आवश्यक परे नयाँ बाटो रोज्नुपर्ने धारणा राखेका हुन् ।

यसबीच सुभापति गगन थापाले भने सर्वोच्चको निर्णयलाई जित–हारको विषय नभई विधि र लोकतान्त्रिक अभ्यासको रूपमा लिनुपर्ने बताएका छन् । उनले पार्टी एकता सुदृढ गर्दै पुनर्जागरणतर्फ अघि बढ्न सबैलाई आह्वान गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.