प्रत्यक्ष प्रतिनिधित्व नभएका क्षेत्रमा समानुपातिक सांसद परिचालन गर्ने निर्णय

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ६, आइतबार १८:३१

काठमाडौं । रष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संगठनात्मक संरचना मजबुत पार्ने उद्देश्यसहितको निर्णय सार्वजनिक गरेको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले प्रत्यक्ष निर्वाचित सांसद नभएका निर्वाचन क्षेत्रमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरूलाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ । साथै, आगामी वैशाख १५ गतेदेखि देशभर जिल्ला अधिवेशन सुरु गर्ने कार्यतालिका बनाएको छ ।

Advertisement

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता मनिष झाका अनुसार रास्वपाले हालसम्म प्रत्यक्ष निर्वाचित प्रतिनिधि नभएका धेरै निर्वाचन क्षेत्रमा आफ्नो संगठनात्मक उपस्थिति अपेक्षाकृत कमजोर रहेको निष्कर्ष निकालेको छ । यही अवस्थालाई सुधार गर्न समानुपातिक प्रणालीमार्फत निर्वाचित सांसदहरूलाई ती क्षेत्रमा जिम्मेवारी तोक्ने रणनीति अपनाइएको हो ।

उनले भने, ‘हामीले प्रतिनिधित्व नभएका क्षेत्रमा पनि पार्टीको पहुँच र प्रभाव विस्तार गर्नुपर्ने आवश्यकता महसुस गरेका छौँ । त्यसैले समानुपातिक सांसदहरूलाई त्यस्ता क्षेत्रमा जिम्मेवारी दिएर सक्रिय बनाउने निर्णय गरिएको हो ।’ उनका अनुसार यसले स्थानीय तहसम्म पार्टीको पहुँच विस्तार हुने मात्र नभई संगठन सुदृढीकरणमा समेत ठोस योगदान पुग्ने अपेक्षा गरिएको छ ।

रास्वपाले यस निर्णयलाई औपचारिकता नभई व्यवहारिक कार्यान्वयनतर्फ लैजाने तयारी गरेको जनाएको छ । सचिवालय बैठकले सम्बन्धित जिल्ला र निर्वाचन क्षेत्रसहितको विस्तृत जिम्मेवारी सूची तयार गर्ने काम अघि बढाइसकेको छ । उक्त सूची सोमबार बस्ने केन्द्रीय समिति बैठकबाट अनुमोदन गरिनेछ । केन्द्रीय समिति बैठकमा सचिवालयले गरेका सम्पूर्ण निर्णयहरू पारित गर्ने कार्यसूची तय गरिएको छ ।

रास्वपाले पछिल्लो समय आफूलाई परम्परागत दलहरूको विकल्पका रूपमा स्थापित गर्ने प्रयासलाई तीव्र बनाउँदै आएको सन्दर्भमा यो निर्णयलाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ । विशेषगरी, प्रत्यक्ष निर्वाचन प्रणालीमा अपेक्षित सफलता नपाएका क्षेत्रमा संगठन विस्तार गर्ने रणनीति पार्टीको दीर्घकालीन योजनासँग जोडिएको देखिन्छ ।

यसैबीच, पार्टीले आगामी वैशाख १५ गतेदेखि देशभर जिल्ला अधिवेशन सुरु गर्ने घोषणा पनि गरेको छ । प्रवक्ता झाले जिल्ला अधिवेशन पार्टीको संगठन विस्तार, पुनर्संरचना तथा आन्तरिक लोकतन्त्र सुदृढीकरणको महत्वपूर्ण आधार हुने अपेक्षा गरिएको बताए । उनले भने, ‘जिल्ला अधिवेशनमार्फत हामी संगठनलाई नयाँ ढंगले व्यवस्थित गर्नेछौँ र स्थानीय तहसम्म सक्रियता बढाउनेछौँ ।’

जिल्ला अधिवेशन सञ्चालनका लागि आवश्यक कार्यतालिका र निर्देशिका तयार पार्ने काम पनि अन्तिम चरणमा पुगेको जनाइएको छ । पार्टीले देशभरका सबै जिल्लामा चरणबद्ध रूपमा अधिवेशन सम्पन्न गर्ने योजना बनाएको छ ।

रास्वपाले हालसम्म विभिन्न अभियानमार्फत संगठन विस्तारलाई प्राथमिकता दिँदै आएको छ । पछिल्ला निर्णयहरूले पार्टीले आफ्नो संरचनालाई अझ व्यवस्थित र प्रभावकारी बनाउने दिशामा कदम चालेको संकेत गरेका छन् । विशेषगरी, समानुपातिक सांसदलाई क्षेत्रगत जिम्मेवारी दिने अभ्यासले राजनीतिक रूपमा नयाँ प्रयोगको संकेत पनि दिएको छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार प्रत्यक्ष प्रतिनिधित्व नभएका क्षेत्रमा प्रभाव विस्तार गर्ने र स्थानीय तहसम्म संगठन मजबुत बनाउने रणनीति रास्वपाको दीर्घकालीन राजनीतिक लक्ष्यसँग जोडिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.