
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ एकपछि अर्को विवादमा तानिँदै जाँदा सत्ता र पार्टी दुवै तहमा उनका बारेमा गम्भीर बहस सुरु भएको छ ।
सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका विवादास्पद व्यापारी दीपक भट्टसँगको व्यावसायिक सम्बन्धले उनलाई विवादमा तानेको हो । गुरुङसँग जोडिएको विवादले अहिले राजनीतिक, नैतिक र कानुनी प्रश्नहरू एकैसाथ उब्जाएको छ ।
सार्वजनिक भएका विभिन्न तथ्य एवं तस्बिरहरुले गुरुङ र भट्टबीच लामो समयदेखि नजिकको सम्बन्ध रहेको पुष्टि हुन्छ । सन् २०२१ मा गुरुङ संस्थापक संयोजक रहेको ‘हामी नेपाल’ संस्थाले आयोजना गरेको कार्यक्रममा भट्टलाई सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा चर्चित आँखा विशेषज्ञ सन्दुक रुइत समेत उपस्थित थिए । त्यही कार्यक्रममा गुरुङ, रुइत र भट्ट एउटै फ्रेममा देखिने तस्बिर सार्वजनिक भएपछि सम्बन्धको गहिराइबारे थप प्रश्न उठेको हो ।
यतिमात्र नभएर भट्टसँग सम्बन्धित स्मार्ट माइक्रोफाइनान्समा करिब २५ लाख रुपैयाँ बराबरको ‘निःशुल्क’ सेयर गुरुङले पाएको विषय पनि अहिले तीव्र विवादको कारण बनेको छ । उक्त सेयर र अघिल्लो सम्मानबीच कुनै सम्बन्ध छ कि भन्ने आशंका सार्वजनिक बहसको विषय बनेको छ ।
यसबीच, गृहमन्त्री बनेपछि गुरुङले सार्वजनिक गरेको सम्पत्ति विवरण पनि आलोचनाको केन्द्रमा परेको छ । विवरणमा उल्लेख गरिएको सुन, नगद र कानुनी हदभन्दा बढी देखिएको जमिनको स्रोतबारे स्पष्टता नआएपछि उनीमाथि थप प्रश्न उठेका छन् ।
भदौमा भएको ‘जेनजी आन्दोलन’ हाइज्याक गरेको आरोपपछि चर्चामा आएका गुरुङ अहिले सत्ता सम्हालेको एक महिना नपुग्दै गम्भीर विवादमा तानिएका हुन् । विवाद चर्किँदै जाँदा गुरुङसँग सम्बन्धित अर्को महत्वपूर्ण पक्ष पनि बाहिर आएको छ । उनले स्थापना गरेको ‘हामी नेपाल’ संस्थाको ‘वेबसाइट’ अचानक बन्द गरिएको छ ।
‘वेबसाइट’ बन्द हुनु आफैंमा संयोग हो कि विवादसँग सम्बन्धित कदम हो भन्नेबारे स्पष्टता आएको छैन । तर, यसले शंका थप बढाएको छ । यता, गुरुङमाथि लागेको आरोपलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र आन्तरिक छलफल तीव्र बनेको छ ।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी र अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालबीच प्रारम्भिक छलफल भइसकेको छ । स्रोतका अनुसार विषय गम्भीर भएकाले पार्टीको केन्द्रीय समिति बैठकमार्फत औपचारिक निर्णय लिने तयारी गरिएको छ ।
पार्टीभित्रको छलफल मुख्य रुपमा भट्टसँगको व्यावसायिक सम्बन्धको प्रकृति र सेयर लगानीको वैधता जस्ता विषयमा केन्द्रित छन् । यदि अनुसन्धानबाट कुनै गैरकानुनी वा अनैतिक कार्य पुष्टि भएमा कारबाही प्रक्रिया अघि बढाउने संकेत नेताहरूले दिएका छन् ।
बुर्लाकोटीले पनि सम्बन्धित व्यक्तिहरूसँग सोधपुछ गरेर तथ्य स्थापित गरिने बताएका छन् । यसैबीच, दबाब बढ्दै जाँदा गुरुङको राजनीतिक दौडधुप पनि तीव्र बनेको छ ।
उनले सोमबार बिहान पार्टी सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् । बुढानीलकण्ठस्थित निवासमा भएको उक्त भेटलाई वर्तमान विवादसँग जोडेर हेरिएको छ ।
पार्टी नेतृत्वसँगको संवादमार्फत आफूविरुद्ध उठेका प्रश्नहरू सम्बोधन गर्ने प्रयासस्वरूप यो भेट भएको अनुमान गरिएको छ । गुरुङ गोरखा–१ बाट निर्वाचित सांसद हुन् । चैत १३ गते गृहमन्त्री नियुक्त भएका थिए ।
तर, छोटो समयमै उनीमाथि उठेका गम्भीर आरोपहरूले सरकार र पार्टी दुवैलाई असहज बनाएको छ । यसअघि पनि रास्वपाभित्र पदीय दुरुपयोगका आधारमा मन्त्रीलाई कारबाही गरिएको उदाहरण रहेको छ । त्यसैले गुरुङमाथिको आरोप प्रमाणित भएमा उनीमाथि पनि त्यस्तै कदम चालिने सम्भावना रहेको स्रोतले बतायो ।
अहिले सबैको ध्यान रास्वपाको केन्द्रीय समिति बैठकतर्फ केन्द्रित छ । उक्त बैठकमा गुरुङको राजनीतिक भविष्यबारे निर्णायक छलफल हुने स्रोतको भनाइ छ ।
राजीनामाको दबाब तीव्र
विवादै विवादले घेरिएपछ गृहमन्त्री गुरुङमाथि राजीनामाको दबाब तीव्र बनेको छ । राजनीतिक तथा नागरिक तहमा उनको चर्को आलोचना सुरु भएको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारका प्रभावशाली मन्त्री मानिएका गुरुङविरुद्ध आफ्नै दल रास्वपाबाट समेत प्रश्न उठ्न थालेको छ ।
निष्पक्ष अनुसन्धानका लागि पदत्याग गर्नुपर्ने माग गर्दै विभिन्न नागरिक समूहले आन्दोलनको चेतावनी दिएका छन् । स्रोतका अनुसार तत्काल राजीनामा दिनुभन्दा पार्टी बैठकमा स्पष्टिकरण दिन गुरुङलाई सुझाव दिइएको छ ।
यद्यपि, ‘शून्य सहनशीलता’को सरकारी नीतिमाथि नै प्रश्न उठ्ने गरी विकसित घटनाक्रमले सरकारमाथि नैतिक दबाब बढाएको छ । गुरुङले राजीनामा दिने वा पदमै रहेर अनुसन्धान सामना गर्ने भन्ने विषय अहिले राजनीतिक बहसको केन्द्र बनेको छ ।



















