
सप्तरी । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) गौतम केसीमाथि औपचारिक छानबिन सुरु भएको छ । एक सञ्चारकर्मीसँगको फोन संवाद सार्वजनिक भई सामाजिक सञ्जालमा तीव्र आलोचना भएपछि मधेश प्रदेश प्रहरी कार्यालयले यस विषयलाई गम्भीर रूपमा लिँदै अनुसन्धान अघि बढाएको हो ।
मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाका अनुसार घटनाको यथार्थ पत्ता लगाउन पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कमल थापाको संयोजकत्वमा बनेको उक्त समितिलाई घटनासम्बन्धी सम्पूर्ण पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ ।
भाइरल अडियोमा एसपी केसी र तिलाठी कोइलाडी गाउँपालिका–४ का सञ्चारकर्मी प्रह्लाद सिंह ‘विक्की’बीच संवाद भएको दाबी गरिएको छ । उक्त संवादमा राजविराज नगरपालिका–३ का मुस्तकिम आलमलाई लक्षित गर्दै अपमानजनक तथा धम्कीपूर्ण भाषा प्रयोग भएको सुनिन्छ । अडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना हुनुका साथै प्रहरी आचरणमाथि प्रश्न उठाइएको छ ।
यसैबीच, मुस्तकिम आलमले आफू अन्यायविरुद्ध आवाज उठाएको कारण एसपी केसीबाट दबाब र धम्की आएको आरोप लगाएका छन् । उनले केही दिनअघि पनि फोनमार्फत आफूलाई धम्क्याइएको दाबी गरेका छन् ।
साथै, आफूलाई फसाउन अरूमार्फत षड्यन्त्र भइरहेको समेत उनको भनाइ छ । घटनाका बारेमा प्रतिक्रिया लिने प्रयास गर्दा एसपी केसीसँग सम्पर्क हुन सकेन ।
यता, मधेश प्रदेश प्रहरी कार्यालयले भने छानबिन निष्पक्ष रूपमा गरिने र तथ्यका आधारमा आवश्यक कारबाही अघि बढाइने जनाएको छ ।



















