
कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–५, भानुबस्तीमा विवाह समारोहकै क्रममा भएको विवादले एक युवकको ज्यान लिएको छ ।
विवाहमा सोमबार राति सामान्य भनिएको विवाद हिंसात्मक बनेपछि १८ वर्षीय उज्जल सायरमाथि धारिलो हतियार प्रहार भएको प्रहरीले जनाएको छ । कञ्चनपुर प्रहरीका प्रवक्ता, डीएसपी हेमबहादुर शाहीका अनुसार विवाद बढ्दै गएपछि सायरमाथि चक्कु प्रहार गरिएको थियो ।
गम्भीर घाइते भएका उनलाई तत्कालै उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएको भए पनि उपचारको क्रममा उनको मृत्यु भएको हो । प्रहरीका अनुसार मृतकको छातीमा धारिलो हतियार प्रहार भएको देखिएको छ ।
घटनापछि अवस्था तनावपूर्ण बनेको थियो । घटनामा संलग्न भएको आरोपमा दुई जनालाई नियन्त्रणमा लिइएको डीएसपी शाहीले जानकारी दिए ।
उनका अनुसार घटनाको विस्तृत अनुसन्धान भइरहेको छ । विवाह समारोहजस्तो खुसीको अवसरमा भएको घटनाले शोक र त्रास फैलाएको छ ।


















