
विराटनगर । अदालतले विभिन्न कसुरमा दोषी ठहर गर्दै कैद तथा जरिबानाको फैसला सुनाए पनि फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गर्न मोरङ प्रहरी सक्रिय बनेको छ ।
प्रहरीले मंगलबार मात्रै विभिन्न मुद्दाका कसुरदारहरूलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालतमा बुझाएको छ । अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत विभिन्न मुद्दामा दोषी ठहर भई कैद तथा जरिबाना भुक्तान नगरी फरार रहेका व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
मोरङ प्रहरीका सूचना अधिकारी, डीएसपी लीलाराज लामिछानेका अनुसार पक्राउ पर्नेहरूमा चेक अनादर, पशुपन्छी सम्बन्धी कसुर र सवारी ज्यानसम्बन्धी मुद्दामा अदालतबाट दोषी ठहर भइसकेका व्यक्तिहरू रहेका छन् । उनीहरु मोरङ जिल्ला अदालतले तोकेको कैद र जरिबाना भुक्तान नगरिकन भागिरहेका थिए ।
विशेषगरी चेक अनादरसम्बन्धी मुद्दामा रमेशकुमार घिमिरे र विनोद घिमिरे गरी दुई जना व्यक्तिहरू तीनवटा छुट्टाछुट्टै मुद्दामा दोषी ठहर भएको खुलेको डीएसपी लामिछानेको भनाइ छ । रमेशलाई मोरङ जिल्ला अदालतले २०८१ माघ ९ गते एक हजार, २०८१ मंसिर २८ गते एक हजार र २०८१ फागुन १६ गते एक हजार पाँच सय रूपैयाँ जरिबाना हुने फैसला गरेको थियो । तर, उनी जरिबाना भुक्तान नगरिकन भागिरहेका थिए ।
त्यस्तै, विनोद पनि चेक अनादरसम्बन्धी तीनवटा अलगअलग मुद्दामा दोषी ठहर भएका थिए । उनलाई अदालतले २०८१ मंसिर १५ गते पाँच सय, २०८१ मंसिर ३१ गते तीन हजार र २०८२ फागुन २७ गते एक हजार रूपैयाँ जरिबाना हुने फैसला सुनाएको थियो । तर, तीनवटा फरकफरक मुद्दामा जरिबाना तोकिएका उनी हालसम्म फरार रहेको डीएसपी लामिछानेले बताए ।
त्यस्तै, पशुपन्छी सम्बन्धी कसुरमा दोषी ठहर भएका लेटाङ नगरपालिका–६ का धनबहादुर तामाङ, राजकुमार भनिने पूर्णबहादुर तामाङ र भीमबहादुर लिम्बू पनि दोषी ठहर भई फरार रहेका थिए । तीनै जनालाई मोरङ जिल्ला अदालतले २०८१ भदौ २२ गते जनही ५ महिना १२ दिन कैद सजाय हुने फैसला सुनाएको थियो ।
यसैबीच, सवारी ज्यानसम्बन्धी मुद्दाका फरार प्रतिवादी लेटाङ–६ का सन्तोष लिम्बू पनि पक्राउ परेका छन् । उनलाई अदालतले २०८१ मंसिर ५ गते ५ महिना ३ दिन कैद र २ हजार रुपैयाँ जरिबाना तोकेको थियो ।
पक्राउ परेकाहरुलाई फैसला कार्यान्वयनका लागि मंगलबार नै अदालतमा बुझाइएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए । प्रहरीले पक्राउ गरेर पेस गरेपछि अदालतले कैद तोकिएकालाई सजाय भुक्तानका लागि कारागार चलान गरेको छ भने जरिबाना तोकिएकालाई त्यसबापतको रकम असुल गरेर छाडेको छ ।
एसपी कटवालका अनुसार अदालतको फैसला कार्यान्वयनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन मोरङमा ‘फरार कसुरदार खोजी अभियान’ सञ्चालन गरिएको छ । विशेषगरी चेक अनादरका मुद्दाहरू पछिल्ला वर्षहरूमा मोरङ जिल्लामा बढ्दो रूपमा देखिँदै आएका छन् । आर्थिक कारोबारमा विश्वासको आधारमा जारी गरिएका चेक अस्वीकृत हुने घटनाले कानुनी विवाद बढ्ने गरेको छ ।
‘फरार कसुरदारहरूको खोजी र पक्राउ अभियानलाई अझ सशक्त बनाइने छ । अदालतबाट दोषी ठहर भएका व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन कुनै पनि ढिलाइ हुने छैन,’ एसपी कटवालले भने । अदालतको फैसला कार्यान्वयन र कानुनी शासनको प्रभावकारितामाथि प्रश्न उठ्न नदिने गरी प्रहरी सक्रियता बढाइएको उनको भनाइ छ । सबै पक्षसँगको समन्वयलाई मजबुत बनाउँदै फरार प्रतिवादीलाई कानुनी दायरामा ल्याइने कटवाल बताउँछन् ।




















