गृहमन्त्रीको राजीनामा माग्नेहरू पक्राउ, एमालेले पनि माग्यो राजीनामा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ८, मंगलबार १७:३४

काठमाडौं । गृहमन्त्री सुधन गुरुङविरुद्ध पछिल्ला दिनमा बढ्दै गएको राजनीतिक र सार्वजनिक दबाबले नयाँ मोड लिएको छ ।

एकातिर मन्त्रीको राजीनामा माग गर्दै विरोध प्रदर्शन गर्ने चार जना युवालाई प्रहरीले पक्राउ गरेको छ । अर्कोतर्फ नेकपा (एमाले)ले समेत औपचारिक रूपमा राजीनामाको माग अघि सारेपछि यो प्रकरण थप गम्भीर बनेको छ ।

Advertisement

प्रहरीका अनुसार गृहमन्त्री गुरुङको राजीनामा माग गर्दै सिंहदरबार परिसरभित्र विरोध जनाइरहेका चार जना युवालाई नियन्त्रणमा लिइएको हो । उनीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि पुगेर नारा लगाउँदै विरोध गरिरहेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले उनीहरूलाई शान्ति सुरक्षा व्यवस्था कायम राख्ने उद्देश्यले नियन्त्रणमा लिइएको जानकारी दिएका छन् ।

पक्राउ परेका युवाहरूले गृहमन्त्री गुरुङमाथि उठेका आरोपहरूको निष्पक्ष छानबिन हुनुपर्ने र नैतिक आधारमा तत्काल राजीनामा दिनुपर्ने माग गर्दै आएका थिए । पछिल्लो समय सेयर कारोबारसँग जोडिएका एक विवादित व्यापारीसँग गृहमन्त्रीको साझेदारी देखिएको आरोप सार्वजनिक भएपछि उनको भूमिकामाथि प्रश्न उठ्न थालेको हो । यही विषयलाई लिएर सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म व्यापक बहस भइरहेको छ ।

यसैबीच, एमालेले पनि गृहमन्त्री गुरुङमाथि लागेको आरोपलाई गम्भीर रूपमा लिँदै औपचारिक धारणा सार्वजनिक गरेको छ । एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीद्वारा जारी विज्ञप्तिमा गृहमन्त्रीसँग सम्बन्धित विषयमा निष्पक्ष र स्वतन्त्र अनुसन्धानको माग गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘गृहमन्त्रीसँग जोडिएका सबै विवादित विषयहरूमा कुनै पनि प्रकारको राजनीतिक वा प्रशासनिक प्रभाव बिना अनुसन्धान अघि बढाइन आवश्यक छ ।’ एमालेले स्पष्ट रूपमा अनुसन्धान प्रक्रियालाई पूर्ण रूपमा स्वतन्त्र राख्नुपर्नेमा जोड दिएको छ । साथै, गृहमन्त्रीको संलग्नता देखिएका सबै पक्षको छानबिन गर्न उच्चस्तरीय संयन्त्र गठन गरी तत्काल अनुसन्धान सुरु गर्नुपर्ने माग एमालेको छ ।

एमालेले गृहमन्त्री स्वयंले पनि अनुसन्धान प्रक्रियामा कुनै अवरोध नगरी सहयोग गर्नुपर्ने उल्लेख गर्दै नैतिक जिम्मेवारी वहन गर्नुपर्ने बताएको छ । ‘ढिलासुस्ती वा ढाकछोप नगरी अनुसन्धानलाई सहज र प्रभावरहित बनाउन गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्छ,’ विज्ञप्तिमा भनिएको छ ।

यस घटनाले सरकारमाथि थप राजनीतिक दबाब सिर्जना गरेको छ । सत्तारूढ पक्षबाट अहिलेसम्म औपचारिक प्रतिक्रिया नआए पनि सार्वजनिक रूपमा उठेका प्रश्न र अन्य दलहरुको दबाबले आगामी दिनमा यस प्रकरणले थप राजनीतिक तरंग ल्याउने संकेत देखिन्छ ।

एकातिर सडकस्तरबाट विरोध प्रदर्शन सुरु भइसकेको छ भने अर्कोतर्फ अन्य दलहरुले संस्थागत रूपमा मुद्दा उठाएपछि गृहमन्त्री गुरुङको पद जोगिने वा नजोगिने विषय अब राजनीतिक समीकरण र अनुसन्धानको प्रक्रियामा निर्भर रहने देखिन्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.