रास्वपाले बनायो संघीय नेतृत्व मञ्च, २५ सदस्यीय अस्थायी संरचना

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ९, बुधबार ०९:३३

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अन्य दलबाट आएका तथा केन्द्रीय समितिमा अटाउन नसकेका नेताहरूलाई व्यवस्थापन गर्न संघीय नेतृत्व मञ्च गठन गरेको छ ।

उपसभापति डा. स्वर्णिम वाग्लेको अवधारणामा बनेको यो संरचना महाधिवेशनसम्मका लागि मात्र रहने र त्यसपछि स्वतः विघटन हुने बताइएको छ । संघीय नेतृत्व मञ्चमा हाल २५ जना सदस्य छन् । यसमा अन्य दलबाट रास्वपामा प्रवेश गरेका नेता, अभियन्ता तथा विभिन्न पृष्ठभूमिका व्यक्तिहरूलाई समेटिएको छ ।

Advertisement

तर, यो संरचनालाई रास्वपाको विद्यमान विधानले भने चिन्दैन । पार्टी विधानअनुसार राष्ट्रिय महाधिवेशन, केन्द्रीय परिषद्, केन्द्रीय समिति, सल्लाहकार परिषद्, अनुशासन आयोग, निर्वाचन आयोग, लेखा र विभागहरू मात्र केन्द्रीय संरचनाका रूपमा मानिन्छन् । त्यसैले यो मञ्चलाई विधानभन्दा बाहिरको अस्थायी संरचना भनिएको छ ।

प्रवक्ता मनिष झाका अनुसार अन्य दलबाट आएका नेताहरूलाई समायोजन गर्न वैकल्पिक व्यवस्थाका रूपमा मञ्च बनाइएको हो । उनका अनुसार महाधिवेशनपछि सबै संरचना पुनः व्यवस्थित हुनेछ र प्रतिस्पर्धाबाट मात्र केन्द्रीय समिति चयन हुनेछ ।

यस मञ्चमा पहिले विवेकशील साझाबाट आएका १७ नेताहरूलाई राखिएको थियो । जसमध्ये सात जना पछि केन्द्रीय समितिमा पुगेका छन् । हाल पनि १० जना सोही पृष्ठभूमिका सदस्य मञ्चमै छन् । उज्यालो नेपाल समूहका नेताहरू पनि यसमा समेटिएका छन् । जसमा केही सांसदसमेत बनेका छन् ।

केन्द्रीय समितिको पछिल्लो निर्णयपछि थप ८ जना सदस्य पनि मञ्चमा थपिएका छन् । त्योसँगै कुल संख्या २५ पुगेको हो । तर, यस मञ्चका सदस्यहरूको भूमिका, अधिकार र जिम्मेवारी भने अझै स्पष्ट गरिएको छैन । एक सदस्यका अनुसार हालसम्म कुनै औपचारिक बैठकसमेत बसेको छैन भने नेतृत्वसँग छलफल पनि भएको छैन ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.