
झापा । झापाको अर्जुनधारा नगरपालिका–११ बगान क्षेत्रबाट लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेर तीन जनालाई नियन्त्रणमा लिएको छ ।
लागुऔषध ब्यूरो काँकरभिट्टा, अस्थायी प्रहरी पोस्ट बसपार्क र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई बुधबार बिहानका राति ४ बजेतिर पक्राउ गरेको हो । पक्राउ पर्नेमा अर्जुनधारा–११ का २५ वर्षीय संजोग राई, २५ वर्षीय रुपेश दर्जी र ३७ वर्षीय अमृत दर्जी रहेका छन् ।
उनीहरूको साथबाट ब्राउन सुगर (खैरो हेरोइन)जस्तो देखिने पदार्थ २७ ग्राम ८३० मिलिग्राम बरामद गरिएको प्रहरीले जनाएको छ । साथै, बा ४० प ३९९४ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ ।
पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान अघि बढाइएको छ । उनीविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।



















