‘सरकार लहडमा चलेको छ’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ९, बुधबार १३:१८

विराटनगर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले पछिल्लो समय कानुन र विधि मिच्दै ‘लहडका भरमा’ निर्णय गरिरहेको आरोप लगाएका छन् ।

विराटनगर विमानस्थलमा बुधबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले सरकारलाई जिम्मेवार बन्न सचेत गराउँदै नागरिकका मागलाई बेवास्ता गरिए सशक्त रूपमा प्रस्तुत हुने चेतावनी दिए । थापाले सरकारले संविधान कार्यान्वयन, विधिको शासन र प्रजातन्त्रका आधारभूत मान्यतामा कमजोरी देखाए नेपाली कांग्रेस दृढ रूपमा उभिने स्पष्ट पारे ।

Advertisement

उनले पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयमार्फत सरकारका केही कदमप्रति गम्भीर ध्यानाकर्षण गराइसकिएको जानकारी दिए । भदौ २४ गतेको घटनाका बारेमा बोल्दै उनले निष्पक्ष र न्यायिक छानबिनका लागि तत्काल आयोग गठन गर्न सरकारसँग माग गरिएको बताए ।

‘सरकारले हाम्रा माग सुन्छ भन्ने विश्वास छ । नसुने कसरी सुनाउने भन्ने पनि हामीलाई थाहा छ,’ उनले भने । उनले राज्यलाई प्रत्येक नागरिकमाथि अनुसन्धान गर्ने अधिकार रहेको उल्लेख गर्दै त्यसलाई कांग्रेसले सम्मान गर्ने बताए । तर, अनुसन्धानका नाममा कानुन उल्लंघन गर्न नहुनेमा उनको जोड थियो । ‘राज्यका निकायहरू छाडा भए प्रजातन्त्र कमजोर हुन्छ,’ उनले भने ।

कांग्रेसको भूमिकाबारे स्पष्ट पार्दै थापाले संघीय संसदमा प्रतिपक्षमा रहे पनि प्रदेशहरूमा सरकारमा रहेको स्मरण गराए । उनले सरकारका सकारात्मक काममा साथ दिने तर जनहितका विषयमा तथ्यका आधारमा प्रश्न उठाउने नीति लिएको बताए ।

प्रमुख प्रतिपक्षीको भूमिका कमजोर भएको आरोपबारे उनले कांग्रेस जिम्मेवार ढंगले प्रस्तुत भएको दाबी गरे । ‘हामी चर्को होइनौँ, तर आवश्यक ठाउँमा स्पष्ट र तथ्यसहित आवाज उठाइरहेका छौँ,’ उनले भने ।

उनले आगामी १५ औं महाधिवेशनलाई लक्षित गर्दै सबै नेतासँग संवाद र छलफल भइरहेको जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.