
पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–७ चुक्फारा स्थित सम्बेवा–एकचेप्पा भित्री सडक खण्डमा हत्या भएको अवस्थामा एक जनाको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार ढुंगाले टाउकोमा हानेर हत्या गरिएको अवस्थामा हिलिहाङ गाउँपालिका–६ भारपाका ५२ वर्षीय धनप्रसाद यवाको शव भेटिएको हो । ढुंगाले टाउकोमा किचेर हत्या गरिएको अवस्थामा बुधबार साँझ करिब ६ बजेतिर शव फेला परेको प्रहरीले जनाएको छ ।
स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट इन्स्पेक्टर रामचन्द्र साह नेतृत्वको टोली घटनास्थल पगेको थियो । प्रारम्भिक अनुसन्धानबाट ढुंगाले टाउकोमा हानेर धनप्रसादको हत्या गरिएको पत्ता लागेको हो ।
प्रहरीले घटनामा संलग्न हुन सक्ने आशंकामा हिलिहाङ–७ का ५४ वर्षीय हरिचन्द्र योक्पाङदेनलाई नियन्त्रणमा लिएको छ । घटनामा उनको संलग्नता छ कि छैन भनेर यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका योक्पाङदेनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि पठाएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

























