
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको नेता चयन आज (शुक्रबार) गर्दैछ । नेता चयनका लागि निर्वाचन हुने भएको छ ।
लामो समयदेखि सहमतिबाट नेतृत्व टुंग्याउने प्रयास असफल भएपछि पार्टी औपचारिक निर्वाचन प्रक्रियामा प्रवेश गर्ने भएको हो । निर्वाचन समितिले यसअघि नै सार्वजनिक गरेको कार्यतालिका अनुसार शुक्रबार नै उम्मेदवारी दर्ता र मतदान दुवै प्रक्रिया सम्पन्न गरिनेछ ।
दिउँसो ३ बजेदेखि उम्मेदवारी दर्ताको समय तोकिएको छ भने साँझ ५ बजेदेखि मतदान सुरु हुने कार्यक्रम छ । पार्टी सहमहामन्त्री प्रकाश स्नेही रसाइली संयोजक रहेको निर्वाचन समितिमा केन्द्रीय सदस्य मुना भुसाल र अधिवक्ता राजु कटवाल सदस्य रहेका छन् ।
प्रतिनिधिसभामा कांग्रेसका प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कुल ३८ सांसद छन् । जसले आजको मतदानमा भाग लिनेछन् । कांग्रेस प्रमुख प्रतिपक्षी दल हो । प्रतिपक्षी पार्टीको संसदीय दलको नेता संवैधानिक परिषद्को सदस्य हुने व्यवस्था छ । त्यही भएकाले यो पदका लागि तीव्र प्रतिस्पर्धा देखिएको छ ।
हालसम्म तीन जना नेताले दलको नेतामा दाबी प्रस्तुत गरेका छन् । भीष्मराज आङ्देम्बे, अर्जुननरसिंह केसी र मोहन आचार्य आआफ्नो पक्षमा समर्थन जुटाउने प्रयासमा छन् । तीनै जना नेता आआफ्नो राजनीतिक पृष्ठभूमि र समूहगत समर्थनका आधारमा प्रतिस्पर्धामा उत्रिएका हुन् ।
पार्टीभित्र देखिएको गुटीय विभाजनले पनि निर्वाचनलाई थप जटिल बनाएको छ । विशेष महाधिवेशन पक्षधर र नियमित महाधिवेशन पक्षधरबीचको विभाजन अझै स्पष्ट देखिन्छ । केसी र आचार्य संस्थापन निकट मानिन्छन् भने आङ्देम्बे फरक धारका प्रतिनिधि हुन् ।
नेतृत्व चयनमा शीर्ष नेताहरूको भूमिकाले पनि समीकरण बदलिएको छ । उपसभापति विश्वप्रकाश शर्मा आङ्देम्बेको पक्षमा खुलेपछि उनको दाबी बलियो बनेको छ । यस्तै, पूर्वसभापति शेरबहादुर देउवा समूह र डा. शेखर कोइराला समूहका केही नेता पनि आङ्देम्बेको पक्षमा उभिएको बताइएको छ ।
यता सभापति गगनकुमार थापासहित अधिकांश पदाधिकारी भने केसीतर्फ झुकेका छन् । पारिवारिक सम्बन्धका कारण आलोचना हुन सक्ने सम्भावनालाई ध्यान दिँदै थापा स्वयंले भने खुला रूपमा समर्थन नजनाउने रणनीति लिएको बताइन्छ । केसीले आफू नभए आचार्यलाई अघि सार्नुपर्ने अडान लिँदा सहमतिको प्रयास थप जटिल बनेको छ ।
महामन्त्री प्रदीप पौडेलले अन्तिम समयसम्म सर्वसम्मत नेतृत्व चयनको प्रयास जारी रहे पनि सफल हुने सम्भावना न्यून बन्दै गएको संकेत गरेका छन् । उनका अनुसार नेताहरूबीच सहमति जुटाउने प्रयास अन्तिम घडीसम्म जारी रहनेछ । तर, सम्भावना कम देखिएकाले निर्वाचन नै निर्णायक हुने अवस्था बनेको छ ।
कांग्रेसको संसदीय अभ्यास हेर्दा २०६४ सालपछि दलको नेता प्रायः निर्वाचनमार्फत नै चयन हुँदै आएको छ । यसपटक पनि आन्तरिक गुटबन्दी र शक्ति सन्तुलनका कारण मतदानमार्फत नेतृत्व चयन हुने लगभग निश्चितजस्तै देखिएको छ ।
यसरी पार्टीभित्रको शक्ति परीक्षणका रूपमा हेरिएको निर्वाचनले कांग्रेसको भावी दिशा, रणनीति र संसदमा प्रतिपक्षको भूमिकामा प्रत्यक्ष प्रभाव पार्ने छ ।

























