
काठमाडौं । प्रतिनिधिसभा सदस्य एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ (हर्कराज राई)ले सुकुम्वासी बस्ती खाली गराउने सरकारी तयारीविरुद्ध कडा प्रतिक्रिया जनाएका छन् ।
सामाजिक सञ्जालमार्फत् सार्वजनिक अभिव्यक्तिमा उनले सरकारको प्राथमिकता र संवेदनशीलतामाथि प्रश्न उठाउँदै गरिब तथा निमुखा वर्गप्रति राज्यको व्यवहार अन्यायपूर्ण भएको आरोप लगाए । उनले सरकारको मूल दायित्व कमजोर र असहाय नागरिकको संरक्षण हुनुपर्ने उल्लेख गर्दै अहिलेको निर्णयले विपन्न समुदायमाथि थप अन्याय हुने बताएका छन् ।
‘हिँड्न नसक्नेलाई काँध हाल्ने पो सरकार, हिँड्न नसक्नेको वैशाखी खोस्ने के सरकार ?’ भन्ने प्रश्न सोध्दै उनले राज्यको भूमिका उल्टो दिशामा गएको टिप्पणी गरे । उनले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पनि सोझै प्रश्न गरेका छन् ।
सुकुम्वासी बस्ती भत्काउने निर्णय पार्टीकै हो कि होइन ? भन्ने जिज्ञासा राख्दै उनले चुनावताका गरिएको प्रतिबद्धताको स्मरण गराएका छन् । सुकुम्वासीलाई धनीपूर्जा दिने वाचा गरेर घण्टीमा छाप मागिएको होइन र ?’ भन्दै उनले वाचा र व्यवहारबीचको अन्तर औँल्याएका छन् ।
साम्पाङले शासक वर्ग र विपन्न नागरिकबीचको जीवनस्तरको गहिरो खाडलसमेत चित्रण गरेका छन् । उनले सुविधा सम्पन्न जीवन बिताउने नेतृत्वले घर टहरा गुमाएर सडक र पुलमुनि रात काट्न बाध्य मानिसहरूको पीडा नबुझ्ने टिप्पणी गरेका छन् ।

























