
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आगामी वैशाख १५ गतेका लागि पार्टीका शीर्ष नेतृत्व र संरचनागत तहका प्रतिनिधिहरूको भेला आह्वान गरेका छन् ।
धुम्बाराहीस्थित होटल स्मार्टमा हुने उक्त भेलामा १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापति तथा उपलब्ध क्षेत्रीय सभापतिहरूलाई बोलाइएको छ । खड्कानिकट नेताहरूका अनुसार उक्त भेला हालैका राजनीतिक घटनाक्रमपछि पार्टीभित्र भइरहेको निरन्तर आन्तरिक छलफलको हिस्सा हो ।
सर्वोच्च अदालतले पार्टीको आधिकारिकतासम्बन्धी रिट खारेज गरेपछि कांग्रेसभित्र नेतृत्व र संगठनात्मक विषयमा सरगर्मी बढेको देखिएको छ । यसअघि वैशाख ६ गते खड्काले निवर्तमान केन्द्रीय सदस्यहरूसँग धुम्बाराहीमै बैठक गरेका थिए ।
त्यसअघि उनले गल्फुटारस्थित आफ्नै निवासमा पार्टीका शीर्ष नेताहरूसँग पनि अनौपचारिक छलफल गरेका थिए । त्यही दिन सभापति गगनकुमार थापा पनि खड्कालाई भेट्न उनको निवास पुगेका थिए । जसलाई दुवै पक्षले शिष्टाचार भेटका रूपमा व्याख्या गरेका छन् ।
महामन्त्री गुरूराज घिमिरेले उक्त भेटलाई सामान्य शिष्टाचार भेट मात्र भएको बताएका छन् । तर, पछिल्ला गतिविधिहरूले कांग्रेसभित्र नेतृत्व समन्वय, संगठन सुदृढीकरण र आगामी रणनीतिबारे छलफल तीव्र बनेको संकेत दिएका छन् । पार्टीभित्रको यस भेलालाई महत्वपूर्ण राजनीतिक सरगर्मीका रूपमा हेरिएको छ ।

























