
विराटनगर । मोरङ जिल्लामा पछिल्लो समय बढ्दै गएको आपराधिक गतिविधि र लागुऔषध कारोबार नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय मोरङले चलाएको ‘स्वीप अप्रेसन’का क्रममा ७२ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङ र मातहतका प्रहरी कार्यालयहरूले सञ्चालन गरेको विशेष अभियानका क्रममा ७२ जनालाई पक्राउ गरेकाे हाे । प्रहरीका अनुसार वैशाख ९ गते बेलुका ६:०० बजेदेखि सुरु भएको यो अभियान वैशाख ११ गते बिहान ६:०० बजेसम्म सञ्चालन गरिएको थियो ।
पक्राउ पर्नेहरूमा लागुऔषध बिक्री वितरण तथा सञ्चय गर्ने, समाजमा अशान्ति फैलाउने, टोलमा गुण्डागर्दी गर्ने र धम्की दिने व्यक्ति छन् । त्यस्तै, सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी हो-हल्ला गर्ने र रातको समयमा शंकास्पद रूपमा हिँडडुल गर्नेहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी निरीक्षक लेखनाथ दाहालका अनुसार समाजमा अराजकता फैलाउने र शान्ति सुरक्षामा खलल पुर्याउने व्यक्तिहरूलाई नियन्त्रण गर्ने उद्देश्यले यो अभियान चलाइएको हो । पक्राउ परेका ७२ जनामाथि आवश्यक अनुसन्धान भइरहेको र कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

























