
विराटनगर । झापा, मोरङ, सुनसरी र इलामका विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषधसहित १४ जनालाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार गरिएको विशेष अपरेसनका क्रममा उनीहरूलाई ब्राउन सुगर र प्रतिबन्धित औषधीसहित नियन्त्रणमा लिइएको हो।
झापाको भद्रपुर-५ बाट वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले भद्रपुर-१० का राजु कुमार राजबंशी, अर्जुनधारा-८ का सलुन रसाईली र बिर्तामोड-३ का पारस प्रसाईलाई ९ ग्राम २३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। यस्तै, बिर्तामोड-४ का रोहित शर्मा र दिपक श्रेष्ठलाई ६ ग्राम १७० मिलिग्राम, मेचिनगर-१० का गुलाम रसुल मियाँलाई ५०० मिलिग्राम र भद्रपुर-५ का कन्चन राजबंशीलाई ५३० मिलिग्राम ब्राउन सुगरसहित प्रहरीले नियन्त्रणमा लिएको छ।
झापाकै जलथलबाट हल्दिबारी-३ का प्रतीक तामाङ र प्रीतम तामाङ २५० मिलिग्राम ब्राउन सुगरसहित तथा धरमपुरबाट शिवसताक्षी-१ का सुदिप बिशुङ्खे २१४ पिस प्रतिबन्धित औषधीसहित पक्राउ परेका छन्।
मोरङको विराटनगर-१५ रानीबाट खटिएको प्रहरी टोलीले बेलबारी-४ का मन कुमार राईलाई ५ ग्राम ८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। त्यसैगरी, सुनसरीको इनरुवा-४ बसपार्क क्षेत्रबाट इनरुवा-७ का श्रवण कुमार उराव ५०० मिलिग्राम ब्राउन सुगरसहित समातिएका छन्।
इलामको सूर्योदय नगरपालिका-११ बाट सोही स्थानका विवेक राई र उदित राई ११० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन्। पक्राउ परेका सबै जनामाथि सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूले थप अनुसन्धान अगाडि बढाएका छन्। सीमावर्ती क्षेत्रमा लागुऔषधको कारोबार बढ्न थालेपछि प्रहरीले सक्रियता तीव्र पारेको छ।

























