कोशीका ४ जिल्लाबाट ६ जना पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १३, आइतबार ०९:४६

विराटनगर । कोशी प्रदेशका विभिन्न ४ वटा जिल्लाबाट ६ जना पक्राउ परेका छन् । पक्राउ परेकाको साथबाट ब्राउन सुगर (खैरो हेरोइन) लगायतका लागुऔषध बरामद भएको छ ।

प्रहरीले झापा, सुनसरी, धनकुटा र उदयपुरबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । झापामा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको टोलीले झापा गाउँपालिका–१ मा भारतबाट नेपालतर्फ आउँदै गरेको मे ९ प ३९१७ नम्बरको स्कुटर रोकेर चेकजाँच गर्दा चालक कन्काई नगरपालिका–४ का साजन माझी र पछाडि सवार विक्रम चौधरीलाई ४ ग्राम ११० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।

Advertisement

त्यस्तै, इलाका प्रहरी कार्यालय काँकरभिट्टाले सुनसरीको धरान उपमहानगरपालिका–१७ की लक्ष्मी राईलाई ८८० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ । यसैबीच सुनसरीको इनरुवा नगरपालिका–४ बाट दुहवी नगरपालिका–९ का मोहमद साविर मियाँ २ ग्राम १६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् ।

धनकुटा नगरपालिका–७ बाट स्थानीय यमबहादुर भण्डारीलाई २०० मिलिग्राम ब्राउन सुगरसहित जिल्ला प्रहरी कार्यालय धनकुटाको टोलीले नियन्त्रणमा लिएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका–२ का अस्मिन तामाङलाई इलाका प्रहरी कार्यालय बेल्टारको टोलीले ३४ चक्की प्रतिबन्धित औषधिसहित पक्राउ गरेको जनाएको छ । पक्राउ परेकामाथि लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.