
काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ७.७३ अङ्कले बढेको छ। यस वृद्धिसँगै नेप्से परिसूचक २७९६ अङ्कमा पुगेर कायम भएको छ। यसअघि शुक्रबार नेप्से १.५ अङ्कले बढेको थियो।
बजार बढे पनि कारोबार रकममा भने केही गिरावट आएको छ। अघिल्लो कारोबार दिन ५ अर्ब २७ करोड रुपैयाँको कारोबार भएकोमा आज ४ अर्ब ७४ करोड रुपैयाँमा खुम्चिएको छ। आज कुल १५७ कम्पनीको सेयर मूल्य बढ्दा १०२ कम्पनीको घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रह्यो।
समूहतर्फ उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.५२ प्रतिशतले बढ्यो। त्यस्तै विकास बैंक १.१४, बैंकिङ ०.६८, फाइनान्स ०.४२, होटल तथा पर्यटन ०.९७, जीवन बीमा ०.१३, माइक्रोफाइनान्स ०.२९ तथा निर्जीवन बीमा समूह ०.१५ प्रतिशतले बढेका छन्। अर्कातर्फ हाइड्रोपावर ०.१९, लगानी ०.२८, अन्य ०.४४ तथा व्यापार समूह १.३९ प्रतिशतले घटे।
आज चारवटा कम्पनीको सेयर मूल्य १५ प्रतिशतले बढेको छ। जसमा पाल्पा सिमेन्ट इन्डस्ट्रिज, कर्पोरेट डेभलपमेन्ट बैंक, शिखर पावर र सिटी होटल रहेका छन्। त्यस्तै झापा इनर्जीको ९.४४ र ग्रिन डेभलपमेन्ट बैंकको मूल्य ६.८६ प्रतिशतले बढेको छ।



















