
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)भित्र कार्य विभाजनलाई लिएर शीर्ष तहमा देखिएको विवादबीच प्रदेशसहित गैरभूगोलका इन्चार्ज भने लगभग टुंगो लगाइएको छ ।
कोशी प्रदेशको इन्चार्जमा राजेन्द्र राई चयन भएका छन् । पेरिसडाँडामा सोमबार बसेको केन्द्रीय संयोजन समितिको बैठकले प्रदेश इन्चार्जहरूको टुंगो लगाउने क्रममा कोशीको जिम्मेवारी राईलाई दिने सहमति जुटाएको हो ।
बैठकमा संगठनात्मक जिम्मेवारी बाँडफाँटको विषयमा शीर्ष नेताहरूबीच मतभेद देखिए पनि प्रदेश तहको इन्चार्ज चयन भने करिब टुंगो लागेको एक नेताले जानकारी दिए । जसअनुसार मधेश प्रदेशको इन्चार्जमा महिन्द्र राय यादव चयन भएका छन् भने सहइन्चार्जमा मातृका यादव र रामकुमार भट्टराई रहेका छन् ।
यसैगरी, बागमती प्रदेशको इन्चार्जमा गंगालाल तुलाधर, गण्डकीमा श्रीनाथ बराल, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा चन्द्रबहादुर शाही र सुदूरपश्चिममा भीम रावल चयन भएका छन् । त्यस्तै, उपत्यका विशेष प्रदेशको इन्चार्जमा हितमान शाक्य र सम्पर्क प्रदेशको इन्चार्जमा यशोदा सुवेदीलाई तोकिएको छ ।
विशेषगरी संगठन विभाग र विदेश विभागको नेतृत्व कसले लिने भन्ने विषयमा विवाद चर्किएपछि बैठक निष्कर्षविहीन रूपमा स्थगित गरिएको थियो । स्रोतका अनुसार संगठन विभागमा वामदेव गौतम र विदेश विभागमा झलनाथ खनालले दाबी गरेका थिए । तर, अन्ततः संगठन विभाग प्रमुखको जिम्मेवारी वर्षमान पुन लाई दिइएपछि गौतम असन्तुष्ट बनेका हुन् ।
बैठकमा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मंसिरमा महाधिवेशन गर्ने प्रस्तावसमेत अघि सारेका थिए । साथै, संविधान संशोधनका विषयमा अध्ययन गर्न ११ सदस्यीय कार्यदल गठन गर्ने निर्णय पनि गरिएको छ । बाँकी विभागीय जिम्मेवारी र विवादित विषयमा भने मंगलबार बस्ने बैठकले अन्तिम निर्णय गर्ने नेताहरूले बताएका छन् ।



















