अनलाइन जुवा खेलाउने गर्ने गिरोह पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १५, मंगलबार ०९:२९

सुनसरी । सुनसरीको धरानबाट आइतबार राति अनलाइन जुवा खेलाउने गिरोह पक्राउ परेको छ । अनलाइन जुवा सञ्चालन भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले राति १०ः३० बजेतिर धरान उपमहानगरपालिका–१३ स्थित लक्ष्मी सडकको मण्डला क्याफेमा छापा हानेको थियो ।

प्रहरीले छापा हानेर जुवा खेलाइरहेको र खेलिरहेको अवस्थामा १० जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाले क्याफेभित्र विभिन्न मोबाइल उपकरणमार्फत जुवा खेलाएको र खेलिरहेको पाइएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले बताए ।

Advertisement

उनका अनुसार धरान–१३ का ४६ वर्षीय हेमन राई, २७ वर्षीय योगेश लिम्बू, २९ वर्षीय मिलन लिम्बू, ३१ वर्षीय सुशान्त घिमिरे, ४२ वर्षीय कुमार तामाङ, ४० वर्षीय विवेक थापा, ३३ वर्षीय सुजित साह, धरान–१६ का ४१ वर्षीय अशोक लिम्बू र धरान–१५ का ३५ वर्षीय भवानी दाहाल लगायतलाई पक्राउ गरिएको छ । घटनास्थलबाट प्रहरीले विभिन्न कम्पनीका १५ थान मोबाइल फोन बरामद गरेको छ ।

मोबाइलमार्फत अनलाइन जुवा खेलाउने तथा रकमको लेनदेनसम्बन्धी गतिविधि भइरहेको प्रहरीको भनाइ छ । मोबाइलहरूमा भेटिएका डाटा र एप्लिकेसनहरूको विस्तृत प्राविधिक विश्लेषणपछि थप तथ्य खुल्ने प्रहरीको भनाइ छ । पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ ।

उनीहरूमाथि जुवा तथा सट्टेबाजी सम्बन्धी कानुनअन्तर्गत थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ । अनलाइन जुवा सञ्चालनका पछाडि संगठित समूह संलग्न रहेको हुन सक्ने आशंकामा सूक्ष्म अनुसन्धान भइरहेको डीएसपी खड्काले बताए ।

सुनसरी प्रहरी प्रमुख एसपी केशव कुमार थेबेले जिल्लाभर अवैध गतिविधि नियन्त्रणका लागि २४ घण्टे स्वीप अप्रेसन सञ्चालन भइरहेको बताए । उनका अनुसार लागुऔषध कारोबार, गुण्डागर्दी, चोरी तथा तस्करीजस्ता गतिविधि नियन्त्रण गर्न प्रहरी सक्रियता बढाइएको जानकारी उनले दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.