भारतमा नेपाली नागरिकमाथि कुटपिट र लुटपाट, गम्भीर घाइते अवस्थामा उद्धार

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १५, मंगलबार १४:३३

झापा । भारतको बनारसमा अज्ञात व्यक्तिहरूको कुटपिट र लुटपाटको सिकार बनेका झापाको मेचीनगर नगरपालिका–४, बाहुनडाँगीका ५६ वर्षीय सन्तोष विकलाई गम्भीर घाइते अवस्थामा उद्धार गरिएको छ ।

उद्धार गर्दै उनलाई नेपाल ल्याएर उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको छ । झापा प्रहरी प्रमुख एसपी, बसुन्धरा खड्काको मोबाइलमा भारतको बनारसस्थित अस्पतालमा एक नेपाली नागरिक बेवारिसे अवस्थामा उपचाररत रहेको भिडियो वैशाख १० गते प्राप्त भएको थियो । उक्त भिडियोमा ती व्यक्ति गम्भीर घाइते अवस्थामा देखिएका थिए ।

Advertisement

प्रारम्भिक सूचनाअनुसार उनलाई अज्ञात व्यक्तिहरूले कुटपिट गर्नुका साथै लुटपाट समेत गरी गम्भीर अवस्थामा सार्वजनिक स्थानमा छाडिएको थियो । स्थानीयले देखेपछि उद्धार गरी उनलाई बनारसस्थित श्री शिव प्रसाद गुप्ता डिभिजनल अस्पतालमा पुर्‍याएका थिए ।

भिडियो प्राप्त भएपछि तत्कालै प्रहरी चौकी बाहुनडाँगीबाट टोली परिचालन गरी उनको घरवतन पहिचान गरिएको थियो । प्रहरी टोली तत्कालै परिवारसँग सम्पर्क स्थापित गर्न सफल भएको थियो । त्यसपछि आफन्तहरू भारततर्फ प्रस्थान गरेका थिए ।

आफन्तहरू अस्पताल पुगेर आवश्यक प्रक्रिया पूरा गरेपछि उनलाई नेपाल ल्याउने व्यवस्था मिलाइएको हो । भारतबाट नेपाल ल्याउने क्रममा जोगवनी नाका प्रयोग गरिएको थियो । जोगवनी नाकाबाट नेपाल ल्याएर विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको झापा प्रहरीका सूचना अधिकारी, डीएसपी खगेन्द्रबहादुर खड्काले बताए ।

खड्काका अनुसार विक हाल आईसीयूमा उपचाररत छन् । चिकित्सकका अनुसार उनको अवस्था गम्भीर भए पनि निरन्तर उपचार भइरहेको छ । नेपाल प्रहरीले घटनालाई गम्भीर रूपमा लिँदै कुटपिट तथा लुटपाटमा संलग्न व्यक्तिहरूको पहिचानका लागि भारतीय पक्षसँग समन्वय गरिरहेको जानकारी खड्काले दिए । उनका अनुसार नेपाल प्रहरीको सक्रियता, सूचना प्रवाह र समन्वयका कारण भारतीय भूमिमा आक्रमणको सिकार भएका एक नेपाली नागरिकको जीवन जोगाउन सम्भव भएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.