
काठमाडौं । नेपाली कांग्रेसभित्र आन्तरिक शक्ति संघर्ष फेरि चर्किएको छ । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पहिले तय भएको नियमित महाधिवेशनलाई नै अघि बढाउने तयारी गरेको छ भने नेता डा. शेखर कोइरालाले आफ्नै पक्षका नेताहरूको छुट्टै भेला बोलाएका छन् ।
१४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य, जिल्ला सभापति तथा उपत्यकामा उपलब्ध क्षेत्रीय सभापतिहरूको काठमाडौंमा मंगलबारबाट सुरु भएको विस्तारित बैठकमा देउवा पक्षले वैशाखमा तय गरिएको महाधिवेशनलाई नै मुख्य एजेन्डा बनाउने तयारी गरेको हो । बैठकमा पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्ने, तथा बैशाखको महाधिवेशनलाई ‘एकताको अधिवेशन’ बनाउने विषयमा छलफल भइरहेको नेताहरूले जनाएका छन् ।
कांग्रेस नेता मीन विश्वकर्माले विशेष महाधिवेशनअघि नै नियमित महाधिवेशनको समय आइसकेको बताउँदै त्यसलाई अघि बढाएर सबै पक्षलाई समेट्ने वातावरण बनाउनुपर्ने धारणा राखिएको जानकारी दिए । उनका अनुसार पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै सबै पक्षलाई एउटै थलोमा ल्याएर १५औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने विषयमा छलफल केन्द्रित छ ।
तर, सभापति गगनकुमार थापा नेतृत्वको कार्यसमितिले भने आगामी १५औँ महाधिवेशन असोजमा गर्ने निर्णय यसअघि नै गरिसकेको छ । निर्वाचन आयोग र सर्वोच्च अदालतले थापाको नेतृत्वलाई वैधानिकता दिएको छ । तर, विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूलाई पनि समेट्ने रणनीति देउवा पक्षको छ ।
विश्वकर्माका अनुसार विशेष अधिवेशन र नियमित अधिवेशनबीचको दुरी घटाएर सबैलाई समेट्ने प्रयास आवश्यक छ । तर, अहिलेको अवस्थामा संवादको पहल नहुनु चिन्ताको विषय बनेको छ ।
यसैबीच, देउवा समूहमा असन्तुष्ट रहेको शेखर कोइराला पक्षले छुट्टै राजनीतिक छलफल सुरु गरेको छ । कोइरालाले आफ्ना निकट बागमती प्रदेशस्तरीय नेताहरूको भेला वैशाख १७ गतेका लागि बोलाएका छन् ।
लामो समयदेखि पार्टीभित्र समन्वय र छलफल कमजोर भएको भन्दै यस्तो भेला आवश्यक भएको नेताहरूको भनाइ छ । कांग्रेसभित्र देखिएको आन्तरिक ध्रुवीकरणले आगामी महाधिवेशनको दिशा र पार्टी एकतामाथि गम्भीर प्रश्न उठाएको छ ।



















