
विराटनगर । विराटनगरबाट ठूलो परिमाणमा लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित दुई जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङ र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरको संयुक्त टोलीले सोमबार दिउँसो ३ः३० बजेतिर भारतीय नागरिकसहितलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको जोगवनीका ३० वर्षीय मोहम्मद अब्दुल्ला र विराटनगर महानगरपालिका–१७ मटेरुवाका ३५ वर्षीय बाबु मियाँ रहेका छन् ।
उनीहरुलाई प्रहरीले विराटनगर महानगरपालिका–९ बाट शंकास्पद अवस्थामा नियन्त्रणमा लिएको हो । प्र १–०४–००२ प ०७७२ नम्बरको मोटरसाइकलमा सवार रहेका उनीहरुमध्ये मियाँको साथबाट १९१ ग्राम खैरो हिरोइनजस्तो देखिने पदार्थ बरामद भएको मोरङ प्रहरीका निमित्त सूचना अधिकारी, इन्स्पेक्टर लेखनाथ दाहालले बताए ।
उनका अनुसार पक्राउ परेकाको साथबाट दुई थान मोबाइल बरामद भएको छ । बरामद भएको लागुऔषध र नियन्त्रणमा लिइएको मोटरसाइकल एवं मोबाइलसहित दुवै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ ।
उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन मंगलबार अदालतबाट म्याद थप गरेर प्रहरीले अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ ।



















