सांकेतिक फोटो ।रूपन्देही । जिउँदै रहेका व्यक्तिलाई मृत घोषणा गर्दै झुटा विवरणका आधारमा मृत्यु दर्ता गराएको घटनामा वडाध्यक्षसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ मा भएको उक्त प्रकरणमा वडा अध्यक्ष प्रभुनाथ अहिर र वडा सचिव सञ्जयकुमार चौधरीलाई नियन्त्रणमा लिइएको हो । यसअघि नै घटनाका मुख्य योजनाकारका रूपमा चिनिएका ३१ वर्षीय तारिख मियाँ अन्सारी र मृत्यु दर्ता मुचुल्कामा साक्षी बसेका ५५ वर्षीय छोटे खाँ पक्राउ परिसकेका थिए ।
प्रहरीका अनुसार अन्य सात जना साक्षी अझै फरार रहेका छन् । उनीहरूको खोजी कार्य जारी छ । अनुसन्धानका क्रममा अन्सारीले आफ्नो बुवा भन्दै छिमेकी ६६ वर्षीय व्यक्तिलाई मृत देखाएर मृत्यु दर्ताका लागि निवेदन दिएको खुलेको छ ।
तर, ती व्यक्ति जीवित रहेको पुष्टि भएको छ । प्रहरीले अन्सारीका वास्तविक बुवाको भने २०६० सालमै मृत्यु भइसकेको जनाएको छ ।
घटनामा वडा कार्यालयकै मिलेमतो देखिएपछि वडाध्यक्ष र सचिवलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।

























