झापामा ८ लाख ४० हजार बराबरको अवैध स्याउ बरामद

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १५, मंगलबार १७:२३

झापा । झापा जिल्लाको झापा गाउँपालिका–१ सालमाराबाट अवैध रूपमा भारततर्फ लैजान तयारी अवस्थामा राखिएको ठूलो परिमाणको स्याउ प्रहरीले बरामद गरेको छ ।

विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल बीओपी टाघनडुब्बा र इलाका प्रहरी कार्यालय कुमारखोदबाट खटिएको संयुक्त टोलीले मंगलबार दिउँसो करिब १२ः३० बजेतिर जालिम मियाको घरमा छापा मारेको थियो । त्यस क्रममा प्रहरीले बिल बीजकबिना लुकाइछिपाइ राखिएको १०४ कार्टुन स्याउ फेला पारेको हो ।

Advertisement

बरामद गरिएको स्याउको तौल २ हजार ८० किलोग्राम रहेको झापा प्रहरीका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले बताए । बरामद गरिएको स्याउको अनुमानित बजार मूल्य करिब ८ लाख ४० हजार रुपैयाँ रहेको जानकारी उनले दिए ।

प्रहरीका अनुसार उक्त स्याउ नेपालबाट अवैध रूपमा भारततर्फ निकासी गर्ने तयारी भइरहेको अवस्थामा फेला परेको हो । सीमावर्ती क्षेत्रमा पछिल्लो समय यस प्रकारका अवैध निकासीका गतिविधि बढ्दै गएको भन्दै सुरक्षा निकायले निगरानी बढाएका छन् ।

बरामद गरिएको स्याउ आवश्यक प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाउने तयार गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्याउ तस्करीमा संलग्नको खोजी तीव्र पारेर थप अनुसन्धान जारी राखिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.