
काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न आकर्षक मुलुकहरू पठाइदिन्छु भन्दै युवाहरूलाई ठगी गरेको आरोपमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । ४५ जना युवाबाट ३ करोड १४ लाख रुपैयाँ ठगी गरेको अभियोगमा ७ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार जापान, कोरिया, फ्रान्स र अमेरिकालगायतका देशमा आकर्षक तलबको प्रलोभन देखाएर उनीहरूले ठुलो रकम असुलेको खुलेको हो । पक्राउ पर्नेहरूमा तेह्रथुमका सुरज लिम्बू, सोलुखुम्बुका कमलबहादुर मगर र सागर शेर्पा रहेका छन् । त्यस्तै, काभ्रेपलान्चोकका विनोद थापा, सूर्यप्रसाद कोइराला, सरोज गौतम र प्रल्हाद खत्रीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीको अनुसन्धानबाट सुरज लिम्बू र कमलबहादुर मगरले ११ जनाबाट १ करोड २ लाख रुपैयाँ उठाएका थिए । विनोद थापाले कोरिया पठाइदिने भन्दै २६ जनाबाट १ करोड ५० लाख, सागर शेर्पाले ५ जनाबाट २८ लाख र सरोज गौतमले एक जनाबाट २७ लाख रुपैयाँ असुलेको पाइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सबैलाई थप अनुसन्धान र कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको प्रहरीले जनाएको छ । पछिल्लो समय वैदेशिक रोजगारीका नाममा हुने यस्ता ठगीका घटना बढेकाले सचेत रहन प्रहरीले सर्वसाधारणमा अनुरोध समेत गरेको छ ।



















