
विराटनगर । १३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस (मई दिवस) को अवसरमा उद्योग संगठन मोरङले एक कार्यक्रमको आयोजना गरी श्रमिक र रोजगारदाताबीचको अटुट सम्बन्धलाई थप प्रगाढ बनाएको छ ।
उद्योग संगठनमा आयोजित ‘श्रमिक सम्मान तथा शुभकामना आदान–प्रदान’ कार्यक्रममा सुनसरी–मोरङ औद्योगिक कोरिडोरका तीन जना पुराना र निष्ठावान् श्रमिकहरूलाई उनीहरूको दीर्घकालीन सेवाको कदर गर्दै सम्मानित गरिएको हो । सम्मानित श्रमिकहरूमा नेपाल लिकर्समा २५ वर्षदेखि कार्यरत मायावती थारु, स्वस्तिक जुट मिलमा २५ वर्षदेखि कार्यरत मोहम्मद ईद्रिस मिया र जयश्री पोलीमर्समा २० वर्षदेखि कार्यरत सीतादेवी लामिछाने रहेका छन् ।
उनीहरूलाई संगठनका अध्यक्ष नन्दकिशोर राठी, निवर्तमान अध्यक्ष राकेश सुराना, वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाल, विपिन काबरा, सुबोध कोइराला, पूर्वअध्यक्षहरु तथा ट्रेड युनियनका प्रदेश तथा जिल्ला कमिटीका अध्यक्षहरूले लगायतले नगदसहित सम्मानपत्र प्रदान गरे ।
श्रमिक दिवसलाई संघर्ष र सामाजिक न्यायको प्रतीकका रूपमा स्मरण गर्दै अध्यक्ष राठीले भने, ‘उद्योग र श्रमिकबीच सन्तुलित सम्बन्ध कायम गर्न संगठनले जहिले पनि सेतुको भूमिका खेल्दै आएको छ । हाम्रो क्षेत्रको सुमधुर औद्योगिक सम्बन्ध यसैको परिणाम हो ।’
संगठनका उपाध्यक्ष सुबोध कोइरालाले प्रविधिको विकास र आर्थिक चुनौतीका बीच श्रमिक र व्यवस्थापनको घनिष्ठ सहकार्यले मात्र उत्पादकत्व र मनोबल उच्च राख्न सकिने धारणा राखे । त्यस्तै, नेपाल ट्रेड युनियन कांग्रेस मोरङका अध्यक्ष सुशील कोइरालाले संवाद र पारदर्शितालाई उद्योग विकासको मुख्य आधार बताए ।
कार्यक्रममा विभिन्न ट्रेड युनियनका प्रतिनिधिहरू, पूर्वअध्यक्षहरू र उद्योगी–व्यवसायीहरूको सहभागिता रहेको थियो । यस सम्मानले उद्योगमा लामो समय पसिना बगाउने श्रमिकहरूको हौसला बढाएको सहभागीहरूले बताए ।

























