तस्बिरः एआईरौतहट । रौतहटको कटहरिया नगरपालिकामा एक दलित महिलामाथि बोक्सीको आरोप लगाउँदै मलमूत्र खुवाइएको निकृष्ट र अमानवीय घटना सार्वजनिक भएको छ ।
कटहरिया नगरपालिका–९ की ५५ वर्षीया पूर्ववडा सदस्य अंकलियादेवी मुसहरिनलाई स्थानीय केही व्यक्तिहरूले बोक्सी भन्दै बलपूर्वक मानव मलमूत्र खुवाएको प्रहरीले जनाएको छ । घटना गत शनिबार साँझ करिब ७ बजेको हो । पीडितका छिमेकी पुकार माझीको घरमा आएको जन्तीमा सहभागी एक १० वर्षीय बालकले बान्ता गरेपछि स्थानीयले अंकलिया देवीले ‘जादु–टुना’ गरेको आरोप लगाएका थिए ।
पीडितकी छोरी सुमिलादेवी मुसहरिनका अनुसार १५ देखि २० जनाको समूह एक्कासि उनीहरूको घरभित्र पसेर कुटपिट सुरु गरेको थियो । उनीहरूले बियरको बोतलमा मलमूत्र घोलेर अंकलिया देवीलाई जबरजस्ती खुवाएको सुमिलाले आरोप लगाएकी छिन् । जन्तीमा आएका बालक बिरामी भएको निहुँमा घरमै बसिरहेका आमाछोरीमाथि सांघातिक आक्रमण भएको उनले बताइन् ।
उक्त कार्यमा पुकार माझी, राजेन्द्र माझी, लक्ष्मी माझी, शंकर माझी, सुरेन्द्र ठाकुर, गौरी साह लगायत एक दर्जनभन्दा बढी व्यक्तिको संलग्नता रहेको पीडित पक्षले किटानी निवेदन दिएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय कटहरियाको टोलीले अचेत अवस्थामा रहेकी अंकलिया देवीलाई गरी तत्काल प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएको थियो । उनको उपचारपछि अहिले अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
दोषीहरूलाई पक्राउ गर्न पुगेको प्रहरी टोलीलाई आरोपित पक्षले अवरोध पुर्याउनुका साथै आक्रमणको प्रयास गरेपछि स्थिति तनावपूर्ण बनेपछि थप प्रहरी बल परिचालन गरी सुरक्षा सतर्कता बढाइएको थियो । घटनालाई अत्यन्त गम्भीरतापूर्वक लिएको र अमानवीय अपराधमा संलग्न जो कोहीलाई पनि कानुनी कठघरामा ल्याउनका लागि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















