
झापा । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका भारतीय नागरिकसहित दुई जनालाई प्रहरीले आइतबार राति मेची पुलबाट नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा भारतको पश्चिम बंगाल घर भएका अङसार आलम र झापाको बिर्तामोड नगरपालिका–४ नयाँबाडी बस्ने ३२ वर्षीय आसिक आलम रहेका छन् । झापा प्रहरीका सूचना अधिकारी, डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार राति करिब ९ः४५ बजेतिर भद्रपुर नगरपालिका–५ स्थित मेची पुलबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
दुवै जना नेपालमा चोरीको घटनामा संलग्न भई त्यसपछि भारततर्फ लुकीछिपी बस्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नेपालमा चोरी गरेर फरार भएका उनीहरु भारतमा आश्रय लिएर बसिरहेको पाइएको छ ।
तर, नेपालतर्फ आउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गर्यो । उनीहरु पुनः चोरी गर्न नेपाल आएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरीका अनुसार २०८२ मंसिर २ गते अर्जुनधारा नगरपालिका–६ कप्तानबारीका दुर्गाबहादुर पौडेल खत्रीको घरमा चोरी भएको थियो ।
उक्त घटनापछि पीडितले इलाका प्रहरी कार्यालय अनारमनीमा किटानी जाहेरी दिएका थिए । सोही आधारमा जिल्ला अदालत झापाबाट आरोपितहरू विरुद्ध पक्राउ पुर्जी जारी भइसकेको थियो ।
घटनापछि फरार रहेका उनीहरू भारततर्फ लुकेर बस्दै आएको सूचनाका आधारमा प्रहरीले खोजी तीव्र पार्यो । गोप्य सूचनाका आधारमा चोरीमा संलग्नहरु नेपाल प्रवेश गर्दै गर्दा मेची पुलमा फेला पारेर नियन्त्रणमा लिइएको डीएसपी खड्काले बताए ।
प्रहरीले दुवै जनालाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाएको छ । उनीहरुविरुद्ध अदालतबाट म्याद थप गरेर चोरी मुद्दामा अनुसन्धान अघि बढाउने प्रहरीको तयारी छ ।



















