‘जीवनकथा अग्रजका’ लोकार्पण

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २१, सोमबार १०:५७
‘जीवनकथा अग्रजका’ लोकार्पण

विराटनगर । मोरङको बेलबारी र सुन्दरहरैँचा क्षेत्रका ऐतिहासिक तथा सामाजिक व्यक्तित्वहरूको जीवनीमा आधारित अनुसन्धानमूलक कृति ‘जीवनकथा अग्रजका’ सार्वजनिक भएको छ । लेखक केशु विरहीद्वारा लिखित उक्त कृतिको हालै एक भव्य समारोहका बीच लोकार्पण गरिएको हो ।

कोसी साहित्यकला परिषद् नेपालको आयोजना तथा सुकुना बहुमुखी क्याम्पसको सहकार्यमा आयोजित कार्यक्रममा कवि एवं संघीय सांसद प्रेमलाल चौधरी प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा कृतिमाथि समीक्षा गर्दै प्रा.डा. भीम खतिवडा र सञ्चारकर्मी लीला अनमोलले पुस्तकको महत्वमाथि प्रकाश पारेका थिए ।

समीक्षक प्रा.डा. खतिवडाले खोज–अनुसन्धानमार्फत अग्रजहरूका बारेमा लेखिनु इतिहासलाई जीवन्त राख्ने महत्त्वपूर्ण कार्य भएको बताए । उनले यो कृतिले पुरानो र नयाँ पुस्ताबीचको खाडल पुर्ने विश्वास व्यक्त गरे । अर्की समीक्षक लीला अनमोलले समाजमा चेतना छर्ने स्रष्टाहरूको सम्मान र संरक्षण गर्ने दायित्व राज्यको मात्र नभई समुदायको पनि भएको धारणा राखिन् ।

कार्यक्रममा बोल्दै उद्योगी भोलेश्वर दुलालले इतिहासको रक्षा गर्नु सबैको कर्तव्य भएको बताउँदै ऐतिहासिक व्यक्तित्वहरूको अध्ययन गरी पुस्तक ल्याएकामा लेखकलाई बधाई दिए । अन्य वक्ताहरूले बेलबारी र सुन्दरहरैँचाको सामाजिक धरातल बुझ्न यो पुस्तक महत्त्वपूर्ण सन्दर्भ सामग्री बन्ने धारणा राखेका थिए ।

लेखक केशु विरहीले दुई वर्षको निरन्तर खोज र अनुसन्धानबाट यो पुस्तक तयार भएको जानकारी दिए । अग्रजका अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले पुस्तक लेखिएको बताउँदै विरहीले यसको बिक्रीबाट आउने २५ प्रतिशत रकम ‘अनुसन्धान अक्षयकोष’मा जम्मा गरिने घोषणा गरे । उक्त कोषको ब्याजबाट नवपुस्तालाई अनुसन्धानमा लाग्न प्रेरित गर्न पुरस्कारको व्यवस्था गरिने उनको योजना छ ।

५६६ पृष्ठको यस पुस्तकमा बेलबारी र सुन्दरहरैँचाका सामाजिक रूपान्तरणमा योगदान पुर्‍याउने ४६ जना अग्रजहरूको विस्तृत जीवनी र योगदानलाई समेटिएको छ । कोसी साहित्य–कला परिषद्का अध्यक्ष चिरञ्जीवी काफ्लेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा झापा, मोरङ र सुनसरीका साहित्यिक क्षेत्रका अगुवाहरूको उल्लेखनीय उपस्थिति थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.