
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियामा कडा नैतिक मापदण्ड लागू गर्ने स्पष्ट नीति सार्वजनिक गरेको छ ।
पार्टीले उम्मेदवार बन्न इच्छुक सबै आकांक्षीलाई निष्ठा, इमान्दारी र सार्वजनिक आचरणमा कुनै प्रश्न नउठ्ने आधार प्रस्तुत गर्नुपर्ने अनिवार्य व्यवस्था अघि सारेको हो । रास्वपाले अब उम्मेदवार छनोट लोकप्रियता वा चुनाव जित्ने क्षमतामा सीमित नरहने जनाएको छ ।
बरु, व्यक्तिको वित्तीय पारदर्शिता, कानुनी विश्वसनीयता, स्वार्थको द्वन्द्वबाट मुक्त अवस्था तथा लोकतान्त्रिक संस्कारप्रतिको प्रतिबद्धता मुख्य मापदण्ड हुनेछन् । विशेषगरी सहकारीको बचत रकम अपचलन, ठगी, मिटरब्याज, घरेलु हिंसा, यौन दुर्व्यवहार वा साइबर बुलिङमा संलग्न नभएको स्वघोषणा अनिवार्य गरिएको छ ।
पार्टीका अनुसार उम्मेदवार छनोट प्रक्रिया चरणबद्ध र संरचित हुनेछ । इच्छुक व्यक्तिले व्यक्तिगत पृष्ठभूमि, योग्यता र क्षमताको परीक्षण हुने ‘क्यान्डिडेट क्लब’मार्फत औपचारिक आवेदन दिनुपर्नेछ ।
‘पालिका क्यान्डिडेट क्लब’ र ‘वडा क्यान्डिडेट क्लब’ गरी दुई तहमा आकांक्षीहरूलाई वर्गीकृत गरिने व्यवस्था गरिएको छ । जसअन्तर्गत मेयर, उपमेयरदेखि वडाध्यक्ष र सदस्यसम्मका पदका लागि छुट्टाछुट्टै आवेदन दिन सकिनेछ ।
समावेशितालाई पनि प्राथमिकतामा राख्दै रास्वपाले महिला, दलित, जनजाति, मधेशी, थारु, मुस्लिम, अल्पसंख्यक, अपांगता भएका व्यक्ति, युवा तथा पिछडिएको क्षेत्रका नागरिकलाई समान अवसर दिने नीति लिएको छ । यसबाट समाजको विविधता प्रतिबिम्बित गर्ने नेतृत्व विकास हुने विश्वास पार्टीको छ ।
यसबाहेक उम्मेदवारको स्थानीय जनसमुदायसँगको सम्बन्ध, स्वीकार्यता, संगठनात्मक क्षमता र वास्तविक चुनावी सम्भावनाको पनि मूल्यांकन गरिनेछ । स्थानीय तहको भौगोलिक, सामाजिक र आर्थिक अवस्था बुझ्ने तथा जनस्तरमा भिजेका व्यक्तिलाई प्राथमिकता दिइने रास्वपाले जनाएको छ ।
पार्टीले विधि आधारित निर्णय प्रणाली विकास गर्दै नेता केन्द्रित संस्कृतिको अन्त्य गर्ने लक्ष्य राखेको छ । साथै, स्थानीय सरकारलाई परिणाममुखी बनाउने सक्षम नेतृत्व उत्पादन गर्ने दीर्घकालीन रणनीतिअनुसार उम्मेदवार छनोट प्रक्रिया अघि बढाइएको पार्टीले जनाएको छ ।



















