महिला उद्यमीलाई कोशी प्रदेश सरकारको साथ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २१, सोमबार २०:४३

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका महिला उद्यमीहरूको आर्थिक विकास र सशक्तिकरणका लागि सरकार पूर्णप्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल उद्योग परिसंघले विराटनगरमा आयोजना गरेको ‘महिला नेतृत्व शिखर सम्मेलन’ को उद्घाटन गर्दै उनले उद्यमीहरूलाई प्रोत्साहित गर्न विभिन्न सहुलियतपूर्ण कार्यक्रम सञ्चालन गर्ने बताएका हुन् ।

Advertisement

मुख्यमन्त्री कार्कीले नयाँ उद्यम सुरु गर्न चाहनेहरूका लागि प्रदेश सरकारले १२ वटा बैंकमार्फत २ देखि ६ वर्षसम्मको ब्याज अनुदानमा कर्जा उपलब्ध गराउने व्यवस्था गरेको जानकारी दिए । ‘हामीले उद्यमीलाई बैंकबाट ऋण लिन सहज होस् भनेर सहजीकरण मात्र गरेका छैनौँ, ब्याजमा समेत ठूलो अनुदान दिएर लगानीको वातावरण बनाएका छौँ,’ उनले भने ।

स्थानीय उत्पादन र घरेलु कपडा उद्योगलाई प्रवर्द्धन गर्न प्रदेश सरकारले नयाँ नीति ल्याउने उनले बताए । प्रदेश सरकार मातहतका करिब चार हजार कर्मचारीलाई विशेष पोशाक भत्ता उपलब्ध गराई हप्तामा एक दिन अनिवार्य रूपमा कोशी प्रदेशमै उत्पादित कपडा प्रयोग गर्न प्रेरित गरिने उनको भनाइ छ ।

मुख्यमन्त्री कार्कीले व्यापारीहरूले प्रदर्शनीस्थलका लागि जग्गा उपलब्ध गराएमा प्रदेश सरकारले भवन निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता समेत जनाए ।

गत वर्ष सम्पन्न लगानी सम्मेलनका उपलब्धिबारे चर्चा गर्दै मुख्यमन्त्रीले हाल एक दर्जन आयोजनाहरू सम्झौता भएर अघि बढेको र जेठ महिनाभित्र थप चार वटा आयोजना कार्यान्वयनमा आउने जानकारी दिए ।

सम्मेलनमा परिसंघका केन्द्रीय अध्यक्ष वीरेन्द्रराज पाण्डे, महिला उद्यमी एवं सांसद विदुषी राणा, र उद्योगी पवन गोल्याणलगायतले महिलाहरूको व्यावसायिक क्षमता अभिवृद्धिमा जोड दिएका थिए ।

सम्मेलनमा प्रदेशभरका ३०० भन्दा बढी महिला उद्यमीहरूको सहभागिता रहेको छ । सो अवसरमा परिसंघको ‘मेक इन नेपाल’ अभियानअन्तर्गत १४ वटा स्टलहरूमा महिला उद्यमीद्वारा उत्पादित सामग्रीहरूको प्रदर्शनी समेत गरिएको छ । कृषि, सीप, सिर्जनशीलता र डिजिटल नवप्रवर्तनमार्फत महिलाहरूको दिगो विकास सुनिश्चित गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.