महासंघमा मतदान हुँदै

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २२, मंगलबार ०६:४९

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६० औँ वार्षिक साधारणसभा अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज (मंगलबार) मतदान हुँदैछ । नेपाल प्रज्ञा प्रतिष्ठानमा भइरहेको निर्वाचनमा विभिन्न समूहका ७३ पदका लागि १ सय ३७ जना व्यवसायीबीच प्रतिस्पर्धा हुँदैछ ।

यसअघि चैत २९–३० गतेका लागि तय गरिएको कार्यक्रम उच्च अदालत पाटनको अन्तरिम आदेशका कारण स्थगित भएपछि नयाँ मितिमा साधारणसभा आयोजना गरिएको हो । सोमबार ललितपुरमा उद्घाटन सत्र सम्पन्न भएको थियो भने मंगलबार निर्वाचन प्रक्रिया अगाडि बढाइँदैछ ।

Advertisement

महासंघको संशोधित विधानअनुसार अध्यक्ष र वरिष्ठ उपाध्यक्ष पदमा प्रत्यक्ष निर्वाचन हुँदैन । कार्यसमितिबाट चयन हुने प्रावधान अनुसार यसपटक वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ नै भावी अध्यक्षका रूपमा अघि बढ्ने निश्चित भएको छ । उपाध्यक्ष तथा कार्यसमिति सदस्यहरूका लागि मात्र मतदान भइरहेको छ ।

निर्वाचनमा जिल्ला–नगर, वस्तुगत र एसोसिएट समूहका प्रतिनिधिहरूबीच प्रतिस्पर्धा छ । महिला उपाध्यक्ष, कोषाध्यक्ष लगायतका केही पदमा छुट्टै निर्वाचन प्रक्रिया अपनाइएको छ ।

भावी अध्यक्षका रूपमा प्रस्तुत भएका श्रेष्ठले आगामी तीन बर्से कार्यकालमा निजी क्षेत्रको मनोबल उकास्ने, लगानीमैत्री वातावरण बनाउने र अर्थतन्त्र विस्तारमा जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले निजी क्षेत्र र सरकारबीचको सम्बन्ध पुनः परिभाषित गर्ने, निजी क्षेत्रप्रतिको सामाजिक दृष्टिकोण सुधार्ने, लगानी तथा सम्पत्तिको सुरक्षा सुनिश्चित गर्ने, निजी लगानी वृद्धि गर्ने र देशभरका उद्योग वाणिज्य संघहरूको क्षमता अभिवृद्धि गर्ने लक्ष्य अघि सारेका छन् ।

उनका अनुसार देशको अर्थतन्त्रमा करिब ८२ प्रतिशत योगदान र रोजगारीको ८६ प्रतिशत हिस्सा निजी क्षेत्रबाट आएको छ । जसले महासंघको नेतृत्वलाई अझ जिम्मेवार र प्रभावकारी बनाउने आवश्यकता औंल्याउँछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.