जेठदेखि सहकारी बचत फिर्ता सुरु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २२, मंगलबार १६:०५

काठमाडौं । समस्याग्रस्त सहकारी संस्थामा अड्किएको बचत रकम फिर्ता गर्ने प्रक्रिया अब सुरु हुने भएको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले मंगलबार सार्वजनिक गरेको कार्ययोजनाअनुसार जेठको पहिलो साताबाट बचतकर्ताको रकम फिर्ता दिन थालिनेछ । समितिका अनुसार माग दाबी पेस गरिसकेका बचतकर्तालाई प्राथमिकतामा राखेर चरणबद्ध रूपमा भुक्तानी गरिनेछ ।

Advertisement

लामो समयदेखि आफ्नो बचत फिर्ता पाउने प्रतीक्षामा रहेका हजारौं बचतकर्ताका लागि यो निर्णयले केही राहत पुग्ने छ । अहिलेसम्म माग दाबी गर्न छुटेका बचतकर्तालाई पनि अवसर दिइने भएको छ ।

समितिले साउनको पहिलो सातादेखि पुनः माग दाबी खुला गरिने जनाएको छ । त्यसपछि छुटेका बचतकर्ताले आफ्नो रकम दाबी गर्न पाउनेछन् । कर्जा असुली प्रक्रियामा भने समिति कडा रूपमा प्रस्तुत हुने भएको छ ।

किस्ताबन्दीमा कर्जा तिर्न लिखित प्रतिबद्धता जनाउने र निश्चित रकम बुझाउने ऋणीलाई केही समय सहुलियत दिइनेछ । तर, लगातार बेवास्ता गर्ने ऋणीमाथि कडा कारबाही गरिने समितिले जनाएको छ ।

यसअन्तर्गत नतिर्ने ऋणीको तीनपुस्तेसहित नामावली सार्वजनिक गरिने र परिवारका सदस्यसमेतलाई कालोसूचीमा राख्ने तयारी गरिएको छ । समितिको यो निर्णयले कर्जा नतिर्ने प्रवृत्तिलाई नियन्त्रण गर्ने लक्ष्य राखेको छ ।

हाल देशभरका समस्याग्रस्त सहकारीमा करिब ७६ हजार बचतकर्ताको झन्डै ४६ अर्ब रुपैयाँ फिर्ता हुन बाँकी रहेको तथ्यांक समितिले सार्वजनिक गरेको छ । ठूलो परिमाणको रकम फिर्ता प्रक्रिया सहज रूपमा अघि बढाउन समितिले विभिन्न कानुनी तथा प्रशासनिक उपायहरू अवलम्बन गर्ने जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.