भारतीय एम्बुलेन्समा गाँजा ओसारपसार, १४८ किलोसहित दुई युवक पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २३, बुधबार ०६:१६

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–२ पुल्ठेगौंडाबाट भारतीय नम्बर नम्बर प्लेटको एम्बुलेन्समा ओसारपसार भइरहेको ठूलो परिमाणको गाँजा बरामद भएको छ ।

इलाका प्रहरी कार्यालय चतराबाट खटिएको गस्ती टोलीले शंकास्पद अवस्थामा रहेको एम्बुलेन्सलाई मंगलबार साँझ नियन्त्रणमा लिएर खानतलासी गर्दा गाँजा फेला परेको हो । चतराबाट तेह्रआर्डीतर्फ गइरहेको बीआर ०७ पीसी ४७६५ नम्बरको एम्बुलेन्स प्रहरीलाई देख्नसाथ फरार हुन खोजेको थियो ।

Advertisement

पिछा गर्दै गएको प्रहरीले एम्बुलेन्सलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा एम्बुलेन्सभित्र प्लास्टिकका बोरामा राखिएको अवस्थामा १४८ किलोग्राम गाँजा फेला परेको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले बताए । उनका अनुसार त्यसलगत्तै एम्बुलेन्स चालक भारतको बिहार राज्य सुपोल जिल्ला वीरपुरका १८ वर्षीय धर्मेन्द्रकुमार यादव र एम्बुलेन्समै सवार वीरपुरका २१ वर्षीय मोहमद सदामलाई पक्राउ गरिएको छ ।

प्रहरीले उनीहरूलाई गाँजा र एम्बुलेन्ससहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेन्द्रनगर राखेको छ । एम्बुलेन्सजस्तो संवेदनशील साधन प्रयोग गरी लागुऔषध ओसारपसार गरिएको घटनाको इन्स्पेक्टर दिवश कुँवर नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ ।

बरामद भएको गाँजा कहाँबाट ल्याइएको हो भन्ने यकिन हुन बाँकी छ । एम्बुलेन्सको प्रयोग गरेर भारत कटाउन खोजिएको हुनसक्ने प्रहरीले जनाएको छ । पक्राउ परेकाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.