क्यासिनोभित्र भेटिए नेपाली, १९ जना पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २३, बुधबार ०७:१७

काठमाडौं । रुपन्देहीको सिद्धार्थनगरस्थित एउटा क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा १९ जना नेपाली नागरिक पक्राउ परेका छन् ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त टोलीले सञ्चालन गरेको विशेष अप्रेसनका क्रममा उनीहरूलाई मंगलबार राति करिब ८ बजेतिर नियन्त्रणमा लिइएको हो । प्रहरीका अनुसार सिद्धार्थनगर नगरपालिका–१० मा रहेको होटल गौतम बुद्ध इन्टरनेशनलभित्र सञ्चालित रोयल कालिङ्गा क्यासिनोमा नेपाली नागरिकहरू जुवा खेलिरहेको गोप्य सूचनाका आधारमा छापा मारिएको थियो ।

Advertisement

नेपालमा क्यासिनो सञ्चालनको अनुमति भए पनि नेपाली नागरिकलाई जुवा खेल्न कडाइका साथ प्रतिबन्ध लगाइएको छ । यही कानुनी प्रावधान उल्लंघन भएको पाइएपछि प्रहरीले आकस्मिक कारबाही अघि बढाएको जनाएको छ ।

कारबाहीका क्रममा क्यासिनो व्यवस्थापनसँग सम्बन्धित ४ र जुवा खेलिरहेका १५ गरी १९ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा रुपन्देहीकै सिद्धार्थनगर नगरपालिका–६ गल्लामण्डी बस्ने २२ वर्षीय अभयकुमार गुप्ता, वडा नम्बर २ का २६ वर्षीय सुशान्त अधिकारी, वडा नम्बर १३ का २८ वर्षीय सन्जय शाक्य तथा ओमसतिया गाउँपालिका–२ का २९ वर्षीय निक्षेन्द नेपाल रहेका छन् ।

यसैगरी काठमाडौंका ५० वर्षीय जीवन थापा, रुपन्देहीका ३२ वर्षीय आकाश गुप्ता, ३३ वर्षीय सुनारी मगर, २९ वर्षीय अब्दुल कलाम जोलहा, ५८ वर्षीय अभिषेक शर्मा, ४४ वर्षीय शिव पाण्डे, ३४ वर्षीय रोहन विक (तिलबहादुर विक), २१ वर्षीय सुरज जयसवाल, १८ वर्षीय रमेश यादव, ३८ वर्षीय निर्मल बस्याल र ३० वर्षीय भरत थापा पनि पक्राउ परेका छन् ।

अन्य पक्राउ पर्नेहरूमा गुल्मीका नेत्र पोख्रेल, ललितपुरका ५० वर्षीय बाबुराजा महर्जन तथा पर्साको वीरगञ्ज महानगरपालिका–७ का ४४ वर्षीय जंगकुमार अग्रवाल रहेका छन् । पक्राउ परेकाहरू विभिन्न जिल्लाबाट क्यासिनोमा पुगेर जुवा खेलिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट नगद ९५ हजार ५ सय रुपैयाँ, विभिन्न कम्पनीका १७ थान मोबाइल फोन र क्यासिनोमा प्रयोग हुने ५० थान क्वाइन बरामद गरेको छ । बरामद सामग्री र पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिएका छन् ।

नेपालमा क्यासिनोहरू विदेशी पर्यटकलाई लक्षित गरेर सञ्चालन गरिने भए पनि पछिल्लो समय नेपाली नागरिककै संलग्नता बढ्दै गएको भन्दै सुरक्षा निकायले निगरानी कडा बनाएको छ । विशेषगरी सीमा नजिकका क्षेत्रहरूमा सञ्चालित क्यासिनोहरूमा नेपालीको अवैध प्रवेश र जुवाजन्य गतिविधि नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको प्रहरी अधिकारीहरू बताउँछन् ।

प्रहरीले यस घटनालाई कानुन कार्यान्वयनको नियमित प्रक्रिया भन्दै यस्ता गतिविधिमा संलग्नमाथि कारबाही जारी रहने स्पष्ट पारेको छ । पक्राउ परेकाहरूलाई जुवासम्बन्धी कसुरमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.